लामा लामा नङ्ग्राहरू र तिखा तिखा दाह्राहरू भएको एउटा कालो डर लाग्दो आकृति म तिर आउँदै थियो । उसलाई देखेर म डराँए ।
उसले भन्यो, ‘नडराई ! मैले तलाई केही गर्दैन् । म त घुम्न आएको हो ।’
‘तपाई को हो ?’, मैले डराई डराई सोधें ।
‘म तेरो देशको भन्सार, मालपोत, यातायात, स्वास्थ्य, विद्युत, टेलिकम आदि स्थानहरूमा विचरण गरिरहन्छु । हाकिम र कर्मचारीहरूको टेबुल मुनिबाट यताउता गर्छु । अब त चिनिस मलाई ?’ उसले सोध्यो ।
‘ए, लामखुट्टे हो ।’ मैले भने ।
‘अहँ गलत !’ भन्दै उसले थप प्रष्ट्याउन थाल्यो, ‘यो देशको सरकार र मन्त्रालय मार्फत कहिले लाउडा काण्ड, कहिले वाइड वडी काण्ड, कहिले बालुवाटार काण्ड, कहिले गोकुल काण्ड र कहिले ओम्नी काण्ड भएर आइरहें। अब त चिनिस् ?’ ऊ बोल्यो ।
‘काण्डै काण्ड भने पछि तोरीको बोट हो ।’ मैले भने ।
ऊ रिसाउँदै बोल्यो, ‘तँ भाङग्रे ! केही नबुझ्ने बज्र स्वाँठ !! मेरो कारण तेरो देशलाई कहिल्यै सन्चो नहुने क्यान्सर लागेको छ । नेताहरू मोटाएका छन् । जनताहरू दुब्लाएका छन् । विकासहरू अलपत्र परेका छन् । अब त पक्कै चिन्छस, म को हुँ ?’
मैले भने, ‘ए, बल्ल चिने । भ्रष्टाचार हो ! भ्रष्टाचार !!’
‘मलाई भ्रष्टाचार भन्ने’ भन्दै ऊ मेरो घाँटी अठ्याउन खोज्दै थियो, म झल्यास्स बिउँझिंए ।
वि.सं.२०७७ जेठ २४ शनिवार ०८:३२ मा प्रकाशित