मुक्तक १
फल नहुने बोटमा झ्याङ्ग बढि,
हाँगा लहरा पात बुट्यान बढि ।
सर्लक्क उम्रयो हर्लक्क बढ्यो,
रंग न ढंङ्गको उट्पट्याङ्ग बढि ।
मुक्तक २
बैंकको बचत खाता र नाता उस्तै भो,
व्यापार जस्तै, नाफा घाटा उस्तै भो ।
अचेल मान्छे भन्दा सम्पतिको महत्व,
भए हायहाय नभए`सि लाता उस्तै भो ।
मुक्तक ३
मौका पायो कि निल्ने, के को मित्र,
अरिंगाल जस्तै चिल्ने, के को मित्र ।
मित्र त हुनुपर्छ, परस्पर स–हृदयी,
घाँस दिएर दूध छिल्ने, के को मित्र ।
मुक्तक ४
भ्याकुतो फुलेर केही नाप्दैन हजुर,
आफै नै ठुलेर केही नाप्दैन हजुर ।
एकछिनको यो ट्वारट्वार न हो,
दम्भले चुलेर केही नाप्दैन हजुर ।
मुक्तक ५
कोहि सिधै हान्छन्, कोहि घुमाएर हान्छन् ,
कसैकसैले नबुझिने गरि हँसाएर हान्छन् ।
कसैको तरिका यति मजाको हुन्छ कि,
अंगालोमा बेरेर गाला सुम्सुमाएर हान्छन् ।