
बिजुली थिएन उ बेला पानी कुवाको थियो
अँध्यारोमा पनि नाता हलो र जुवाको थियो
घुम ए जिन्दगी कति सम्म घुम्न सक्दछस्
पूर्वजन्ममा लाग्छ जिन्दगी कतुवाको थियो
बनाउँदै गएँ भत्किँदै गयो ठडिन्थ्यो किन
सपनामा महल जो देखें बालुवाको थियो
उडेको मन न सम्हाल्न सकेँ न समात्न नै
जति छुन खोज्छु झन् टाढा भयो भुवाको थियो
छुट्ने बेला रुमाल जानाजानी खसालेको हूँ
तिमीले सम्झ्यौ होला यो कुन बटुवाको थियो