
हतार- हतार
कता जाँदैछ यो सूर्य ?
माने दाइको घट्ट जसरी
किन फनफनी घुम्दैछ यो आकाश ?
मलाई रिंगटा चल्दैछ
हो मलाई रिंगटा चल्दैछ !
भर्खरै जन्मिएको गाईको बाच्छो जसरी
ढलपल ढलपल गर्दै
म भर्खर उभिएकी छु यो बाटोमा
मलाई यही गोरेटो हिंडेर
पुग्नु छ उ त्यो परको बस्तिसम्म !
हिजो पनि यसैगरी
म यही दोबाटोमा उभिएकी थिएँ
र आज पनि म यही दोबाटोमा उभिएकी छु
म जति नजिक जान खोज्छु
बस्ति उति टाढा भाग्छ
म बस्दा त्यो पनि बस्छ
म उठ्दा त्यो पनि उठ्छ
म दौडिंदा त्यो पनि दौडिन्छ
ए बटुवाहरु हो !
कोही त बताई देउ
यो मलाई के भई रहेछ ?
मलाई पुग्नु छ जसरी पनि त्याँहा
जहाँ केही थान छाँयाहरु मेरै बाटो हेर्दै छन्
यो मेरो आत्मविश्वास हो
यो मेरो कसम हो
र यो मेरो भरोसा पनि हो
कि तिनीहरु मेरै बाटो हेर्दै छन्
तर तिनीहरु बस्ने यो बस्ति
साराका सारा छाँयाहरुलाई बोकेर
कता भागि रहेको छ ?
ती छाँयाहरु मध्ये
एउटा छाँया मेरी छोरीको हो
अर्को मेरी दिदीको हो,
अर्को मेरी बहिनीको हो,
अर्को मेरी काकीको हो
र झन अर्को मेरी आमाको हो !
ती छाँयाहरुलाई बोकेर
हरेक दिन बस्ति हराउँछ
किन सोध्दैनन् कोही
कि त्यो बस्ति कहाँ जान्छ
र कता हराउँछ ?
ए मान्छेहरु हो,
तिमीहरु देख्दैनौ ?
या देखेर पनि नदेखे झैं गर्छौ ?
हरेक दिन, हरेक महिना र हरेक साल
यो बस्तिले अलप पार्ने गरेको छ
चेलीहरु हिंड्ने गरेको गोरेटो
तिनले लाउने गरेको जन्तर
र तिनले गाउने गरेको गीत !
बदलामा हामीलाई दिने गरेको छ
कसैले कोपरेका अनुहार,
डामेर छोडेका ओठ,
समयको चक्कुले चिरेर,
चिरा चिरा पारेका छालाका थुप्रा,
छिया छिया परेका मुटु,
दाह्रा धस्सिएका रक्तमुछेल स्तन
र पीप बगिरहेका पवित्र योनीहरु !
मैले यसपाली चिन्नु छ
सबै सबै अनुहार
ती अनुहार
जसले यो बस्तिका हरेक फूलमा
विष छरिरहेका छन् !
म पुग्नु छ घाम डुब्नु अघि नै त्यो बस्तिमा
सुम्सुम्याउनु छ ती छाँयाहरुलाई
र रोक्नु छ घाउका संस्करणहरुलाई !
तर मलाई यही गोरेटोमा
दिन ढल्किनु अघि
रातको बर्कोले छोप्न खोजेर
हतार हतार
कता जाँदैछ यो सूर्य ?