
१ असार,सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौँ अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट आज प्रस्तुत गरेका हुन् ।
सोअनुसार पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ । चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ८७ करोड ४१ लाख, रोजगारीका लागि रु दुई अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च रु आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ । अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचत हुने रकम रु ११ अर्ब १९ करोड नौ लाख ८५ हजार, सङ्घीय सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त हुन आएको रु सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको रु नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिने उल्लेख छ ।
नेपाल सरकारको समपुरक अनुदानवापत रु २५ करोड २५ लाख, विशेष अनुदानवापत रु ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा रु एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको –कोभिड १९ बाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।
बजेटमा भूमि तथा कृषि विकास लगायतका कार्यक्रम सञ्चालन गर्न २ अर्ब ७० करोड बजेट विनियोजन गरिएको । कृषि तर्फ खाद्यान्न, फलफूल, दुग्ध उत्पादन, फलफूल, माछापालन लगायतका व्यवसायलाई प्राथमिकतामा राखिएको छ ।
उद्योग तथा वाणिज्यतर्फ रु. ४७ करोड, भूसंरक्षण र वातावरणतर्फ रु. ८१ करोड, हवाई सेवा र पर्यटन तर्फ ७३ करोड छुट्इयाएको छ ।
शिक्षातर्फ ८९ करोड विनीयोजन गरिएको छ । ज्ञान र सीपसँगै स्वआर्जन(लर्न एण्ड अर्न) अवधारणामा विद्यालयहरु सञ्चालन गरिने त्यसका लागि ४ करोड छुट्याएको छ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयमा भाइरोलोजी ल्याब स्थापना र आवश्यक पूर्वाधार गनर्न रु. १० करोड बजेट विनीयोजन गरिएको छ ।
संस्कृति, युवा तथा खेलकुदतर्फ रु. १५ करोड ६० लाख, खानेपानी तथा सरसफाइका लागि १ अर्ब ६० करोड, सडक, पूर्वाधार र यातायात सेवातर्फ ५ अर्ब ७९ करोड, सिंचाई तथा नदि नियन्त्रण तर्फ रु. १ अर्ब ७३ करोड, उर्जा विकास तर्फ रु. ५० करोड बजेट छुट्याइएको छ ।
हेर्नुस् विस्तृतमा बजेट :