
४ असार, काठमाण्डौं । अफ्रिकामा कार्यरत नेपालीहरु र पोखराका स्थानीय व्यक्तिहरुको लगानीमा पोखरामा ‘पोखरा वास’ इन्डस्ट्रीज प्रा. लि. कम्पनी सुरु भएको छ ।
अफ्रिकाको नाइजेरियामा कार्यरत हिक्मत थापा, केन्यामा कार्यरत कुलबहादुर कार्की, धेरै बर्ष अफ्रिकामा र हाल म्यान्मारमा कार्यरत एकनाथ खतिवडा, पोखराका डोब बहादुर कार्की र मोहनराज न्यौपानेको संयुक्त लगानीमा नेपालमै नौलो किसीमको ‘पोखरा वास’ सुरु गरिएको हो ।
पाँच करोड लगानी रहेको उक्त कम्पनीले आफ्ना उत्पादन सुरु गरिसकेको छ । कम्पनीले हाल देशैभरीका क्वारेन्टिनलाई लक्षित गरेर मोबाइल ट्वाइलेट र विभिन्न क्षमताका खाने पानी ट्यान्कीको उत्पादन सुरु गरेको छ । उत्पादनको पहिलो चरणमा कम्पनीले स्याङजा जिल्लाको हरिनाश गाउँपालिकामा १० वटा मोबाइल ट्वाइलेट जडान समेत गरिसकेको छ ।
क्वारेन्टाइनस्थलमा आफ्नै जनशक्ति परिचालन गरेर मोबाइल ट्वाइलेट जडान गरेको कम्पनीका सिइओ तथा युवा व्यवसायी सुनिल कार्कीले संसारन्युजलाई जानकारी दिएका छन् । ‘कोरोना महामारी भन्दा पहिले नै उत्पादन सुरु गरिसकेका थियौं, तर लकडाउनका कारण व्यवसाय रोकियो अहिले भने व्यवसायीक नै भएपनि सामाजिक दायित्व पनि हो भन्ने हिसावले काम गरिरहेका छन् ।’ सिइओ कार्कीले बताए ।
कार्कीका अनुसार पोखरा वासले उत्पादन गरेको फेवालेट नामक उक्त मोबाइल ट्वाइलेटको बजार मूल्य अनुसार ४० हजार पर्ने गरेको तर अहिले क्वारेन्टिनमा लागि ३५ हजार मूल्य पर्ने र जडान कार्य निःशुल्क रुपमा गरिएको छ ।
‘अहिले देशैभरी एउटा पालिकामा कम्तिमा पनि २० वटा क्वारेन्टिन रहेका छन् । कोभिड–१९ को आपतकालिन समयमा तत्काल ट्वाइलेट निर्माण गर्न पनि नसकिने, त्यसका लागि जनशक्तिको आवस्यकता पर्ने र खर्च पनि धेरै लाग्ने भएकाले यस्तो अवस्थामा मोबाइल ट्वाइलेट अत्यन्तै उपयोगी हुने हामीले ठहर गरेका छौं ।’ सिइओ कार्कीले भने । कार्कीका अनुसार अर्डर भएको तीनदिनमै २० वटा सम्म मोबाइल ट्वाइलेट उत्पादन गर्न सकिन्छ ।
कोभिड १९ को आपतकालिन् अवस्थामा उक्त मोबाइल ट्वाइलेट प्रयोगमा ल्याएपछि, पछि स्थानीय निकायका विभिन्न ठाउँमा, जस्तै पर्यटकियस्थल, स्कुल, मठ मन्दिरको छेउछाउँ, हाइवे, मेला, भेला, हाटबजार लगायत जहाँ तत्काल ट्वाइलेट बनाउने अवस्था छैन त्यहाँ यी मोबाइल ट्वाइलेट प्रयोग गर्न सकिन्छ । यसलाइ ३५ वर्षसम्म प्रयोग गर्न सकिने कार्कीको दावी छ ।
पहिले विदेशबाट आयातित मोबाइल ट्वाइलेटहरु नेपालमा प्रयोग भइरहेको अवस्थामा देशमै केही गरौं, नौलो गरौं भनेर लागि परेका गैरआवासीय नेपालीहरुले देशमै उत्पादन सुरु गरेको अवस्थामा स्वदेशी उत्पादन प्रयोग गर्न सिइओ कार्कीले अनुरोध गरेका छन् । ‘हामीले विदेशबाट ल्याएका मोबाइल ट्वाइलेट प्रयोग गरिरहेको अवस्थामा आफ्नै देशमा उत्पादन भएको सामान नेपाली उपभोक्ताहरुले प्रयोग गर्नुहुन्छ भन्ने आशा गरेका छौ अनि अनुरोध पनि गर्दछौं ।’ कार्कीले भने ।
कम्पनीले प्रारम्भिक चरणमा अहिले विभिन्न क्षमताका खानेपानी ट्यान्की, मोबाइल टवाइलेट लगायतका बायोग्यास उधोग सम्बद्द सामानहरु उत्पादन सुरु गरिसकेको छ । कोभिड १९ को आपतकालिन् अवस्थापछि देशैभरीका बजारमा आफ्ना उत्पादनहरु लैजाने तयारीमा कम्पनी रहेको पनि कार्कीले बताएका छन् ।
उद्योगले हाल विभिन्न क्षमताका खाने पानी ट्यान्की, मोबाइल ट्वाइलेटहरु, बायोग्यासलाई चाहिने ट्यान्की र सामाग्रीहरु अहिले उत्पादन गरिने र खानेपानी, उर्जा, सफाई, स्वच्छता क्षेत्रका विभिन्न उत्पादनहरु थप्दै जाने बताएका छन्न् सिइओ कार्की बताउँछन् । उत्पादनको प्रविधी र गुणस्तर अन्तराष्ट्रियस्तरको रहेको र यसै क्षेत्रमा लामो समयसम्म बिदेशमा कार्यरत इन्जिनियर र प्राबिधिज्ञहरुको संलगनता रहेको पनि उनले जानकारी दिएका छन् ।
हरिनाश गाउँपालिकामा जडान भयो मोबाइल ट्वाइलेट
कम्पनीले स्याङजा जिल्लाको हरिनाश गाउँपालिकाले निर्माण गरेको कोभिड प्रकोपको लागि बाहिरबाट आउने गाउँबासीका लागि निर्माण गरिएको क्वारेन्टाइन स्थलमा दशवटा घुम्ती ट्वाइलेट जडान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरका अनुसार पोखरा वाशले उत्पादन गरेका घुम्ती ट्वाइलेटहरु छिटो, छरितो र पछि अर्को ठाउँमा स्थान्तारण र प्रयोग गर्न मिल्ने भएकोले यी जडान गरिएको जानकारी दिएका छन् । क्वारेन्टाइनमा दशैवटा ट्वाइलेट एकै दिनमा जडान गरि सन्चालनमा ल्याइएको हो ।