
१)
नेताले चर्को भाषण गर्दैमा गुमेको माटो आउँदैन
जनताले आफैं नखनेसम्म गाउँमा बाटो आउँदैन
रोटी र बेटीको साच्चिकै पुरानो सम्बन्ध हो भने
सानातिना विवादले छिमेकीसँग फाटो आउँदैन ।
२)
खेतको गरामा धानको बीउभन्दा बढी झार छ
किसानलाई माना रोपेर मुरी फलाउने हतार छ
सरकारले दिने दुई चार पैसाको लोभ रत्ती छैन
त्योभन्दा आफैंले आर्जन गरेको कमाइ प्यार छ ।
३)
बाटोमा हिड्दै गर्दा ठेस लाग्न सक्छ
कहिल्यै नसोचेको केस लाग्न सक्छ
हाम्रो सम्बन्ध न रुचाउने धेरै होलान्
युगल जोडी देख्दा बेस लाग्न सक्छ ।
४)
ठूलो जात हुँ भन्दैमा किन दलितलाई हेप्छौं
माथि उठ्न खोजे नानाथरी बहानामा चेप्छौं
अधिकार खोज्न दाजुभाइ दिदीबहिनी जागौं
कति दिन अन्याय, अत्याचार चुपचाप खेप्छौं ।
५)
रातमा टिलपिल गर्ने तारा पनि झरेर जाने हो
धेरै सुन्दर फूल भएपनि बास्ना छरेर जाने हो
किन पद पैसा प्रतिष्ठाको निम्ति मरिहत्ते गर्छौ
एकदिन सबै मान्छे ढिलो चाँडो मरेर जाने हो ।