बाहिर सुनसान, भित्र गुनगुन
मान्छेमय यी घरहरू
हरेक कोठा वा बैठक
वा भान्साकक्ष
हरेक ठाउँ मान्छेमय भएपछि
तीन फिटको अनिवार्य दूरी पालना गरेर पनि
मान्छेहरू सगबगाइरहन्छन् घरभित्रै अचेल
यता हाम्रो चर्यामा बञ्चरो प्रहार हुन्छ ।
असत्ती कोरोना !
सत्यनाश होस् तँ निठुरीको !
अचेल कोही जाँदैनन् स्कुल वा कलेज
बच्चा पुर्याउन वा लिएर आउन
अनिवार्य समयभरि काममा जान
घरहरू जनरहित हुने सम्भावना नै छैन
हे भगवान ! अब कसरी बाँच्ने ?
सिटीबस चल्दैनन्
पाकेट मार्न बन्द भयो
अस्ति चोरेका रहलपहल चिजबीज पनि
साट्न पाइएन सस्तैमा, दिन पाइएन सित्तैमा
हरेक पसल र हाम्रा नियमित दलालका पसलसमेत
रोइरहेका देखिन्छन् भोटे ताला झुण्ड्याएर ।
सुनसान सडकहरू
यदाकदा गस्तीका वाहन उचालेर सन्तोष गर्छन्
एम्बुलेन्सका साइरन र फोहोर संकलनका ट्रकहरूका
हर्न सुनाएर घर्घराउँदै निस्किन्छन्
हामीसँग नियमित कमिशन खाने अनुहारहरू
वाहनभित्रैबाट माइकमा जनतालाई सूचित गरिरहन्छन्
तर कसैले पनि हाम्रो समस्या र पीडाको
छनकसम्म पनि अनुभव गरेका हुँदैनन्
बेखबर छ यो सारा समाज, सारा प्रशासन
हाम्रो बढ्दै गएको अन्तरपीडाबाट !
होश गुमाइदे कोरोना !
कतिपय मान्छेहरूको
ताला, छिड्किनी, झ्याल र ढोकाहरू
बन्द गर्न बिर्सिऊन् मान्छेहरू
घरमै रहे पनि बाहिर गएको छु भन्ने भ्रम जमाइदे
अर्काे व्यक्ति आएको पनि नदेख्ने बनाइदे
छाप्छाप्ती छरिएका पुलिसका आँखा टालिदेरछारो हालिदे
अब नगद चोर्नु छैन हामीले
मन्दिरका मूर्ती वा गजूर उडाउनु छैन
ताँबाको तार तान्नु छैन
चाहिएनन् मोबाइल, सिक्री र घडीहरू
कसले किन्छ र ?कहाँ लगेर बेच्नु र ?
मात्रै दाल, चामल, तरकारी चोर्न पाए भयो
भोकको आगो निभाउन पाए भयो
औषधि र उपकरणमा कमिशन खाने ह्याउ छैन
राष्ट्रकोषमा घोटाला गर्ने दाउ छैन
सार्वजनिक जग्गा हडप्न खोजेको होइन
कम्पनीहरूसँगको कमिशन रोजेको होइन
यो त्रस्त वातावरणभरि बाँच्नलाई
अघाउँजी भात चोर्न पाए भयो,बस्…!
अब ता धिक्कार लाग्न थाल्यो यो चोरको जुनी पनि
तर बाँच्नुको अहम् सवाल छ
अब लकडाउनको निषेधित सडकमा
हूल बाँधेर निस्किएर
जुलुश निकाल्नैपर्ने बाध्यता हुनेछ
यी नारा लगाउँदै–
हामीले चोर्न–पाउनैपर्छ !
लकडाउन–मूर्दावाद !
कमिशन खाने पुलिस–मूर्दावाद
हाम्रो चोर्न पाउने अधिकार–सुनिश्चित गर !
चोर एकता–अमर रहोस् !