बा ! डोको फर्काएर ल्याउनु होला
जब तपाईं बजै जस्तै विरामी थलो पर्नुहुन्छ
हिडन सक्नुहुन्न
बोल्न, देख्न र सुन्न सक्नुहुन्न
तपाईका शरिर जिर्ण अशक्त हुनेछन्
तपाईलाई बृद्ध आश्रममा लैजान डोको चाहिन्छ
त्यसैले,
बजैलाई आश्रममा थन्काए पछि
छोडे पछि
बा ! डोकोसंगै लिएर आउनु होला ।
हो बा !
शिक्षा, संस्कार र संस्कृति
घरबाटै जानेको बुझेको हो
मैले तपाईहरुबाटनै सिखेको हो
जुन मार्ग हिंडाउनु भो
जसरी संसार देखाउनु भो
जस्तो सिखाउनु भो
जस्तो पढे, ज्ञान आर्जन गरें
त्यस्तै नै मैले गर्ने न हो
त्यसैले,
बजैलाई बृद्ध आश्रममा छोडे पछि
बा ! डोको साथमै लिएर आउनु होला ।
जसरी बजैले
तपाईलाई पढाउनु भो
जेनतेन परिश्रम दुःख गरि हुर्काउनु भो
त्यसरी नै तपाईले
मलाई गर्नु भएको हो
जति माया तपाईलाई मेरो लाग्छ
उति नै माया
बजैले तपाईलाई गर्नुहुन्छ
बा ! हेक्का होस्
आज अरुलाई मिल्काउनेले
भोलि आफैलाई मिल्काउन सक्छ
त्यसैले,
बजैलाई बृद्ध आश्रममा मिल्काए पछि
बा ! डोको साथमै लिएर आउनु होला।
मान्छेले मान्छे प्रति
सानाले ठुला अग्रज प्रति
अनुग्रहित हुनुपर्छ
ठुलाबडा अग्रजहरुलाई
सदैव मान सम्मान मर्यादा पुजा गर्नुपर्छ
योगदानको खुलेर प्रशंसा कदर गर्नुपर्छ
दुःख होस् या सुख
दिन घुम्दै फिर्दै सबैको आउँछ
आज बृद्ध आश्रममा लैजानेले
भोलि आफै पनि जानुपर्ला
त्यसैले,
बजैलाई बृद्ध आश्रममा छाडे पछि
बा ! डोकोसंगै लिएर आउनु होला ।