
काठमाडौं । विवादै विवादका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
पार्टीको आन्तरिक विवादका कारण अध्यक्षद्वयबीच कुरा नमिल्दा बैठकको कार्यसूची बैठक अघि मात्रै तय भएको थियो । अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान छलफल भएसँगै कार्यसूची तय भएको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत स्थायी कमिटीको बैठकका एजेण्डा सार्वजनिक गरेका थिए ।
यी हुन् बैठकका पाँच एजेण्डा
स्थायी कमिटी बैठकको शुरुमै वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्ने कार्यसूची छ । बैठकमा सरकारको कामको सम्बन्धमा समिक्षा हुनेछ ।
पार्टी एकताका बाँकी कामहरुका बारेमा पनि छलफल हुने कार्यसूची छ ।
विवादित एमसीसीका सम्बन्धमा बैठकमा छलफल हुनेछ । यसअघि एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वयले भनाई राख्ने र स्थायी कमिटीहरुले आफ्नो मत राख्नेछन् ।
बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुबारे समिक्षा हुनेछ । साथै पछिल्लो समय छिमेकी मुलुक भारतसँग देखिएको सीमा विवाद र अंगिकृत नागरिकताको विषयमा पनि छलफल हुने नेकपाले जनाएको छ ।