
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुलाई राष्ट्रपति निवासमा बोलाएकी छन् । भण्डारीले बुधबार साँझ शीतल निवासमा बोलाएकी हुन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जनाएअनुसार कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न भण्डारीले नेताहरूलाई शीतल निवास डाकेकी हुन् । अधिकारीका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।
अधिकारीले जनाएअनुसार राष्ट्रपतिले कोरोना माहामारीले निम्त्याएको संकट, नयाँ नक्सा जारी तथा नागरिकता विधेयक पारित गरेपछिको अवस्थाका बारेमा शीर्ष नेताहरुसँग छलफल गर्नेछिन् ।
राजनीतिक संकट चुलिरहेको र सत्तारुढ नेकपा आन्तरिक द्वन्द्वमा फसिरहेको बेला राष्ट्रपतिले सामुहिक भेटघाट गर्नुलाई अर्थपूर्णं मानिएको छ । स्मरणरहोस् आजदेखि नै सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । विवादका बीच सुरु स्थायी कमिटी बैठकमा सरकार सञ्चालन, विवादित एमसीसी सम्झौतालगायतका विषयमा कडा छलफल हुनेछ ।