
१२ असार, काठमाडौँ । निकै समय घर्काएर र सार्दै आएर शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठकमा नेताहरुको घोचपेच जारी रहेकै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा असार १० गतेदेखि चालु स्थायी समितिको बैठकमा एजेण्डा फ्लोर देखि बाहेक जम्मा दुई अध्यक्षले भनाइ राखेका छन् । तर माधवले यसो बोले, उसो बोले भनेर छापा, अनलाइन र अन्य मिडियामा समेत अनेकथरी अड्कलबाजीहरु आइरहेका छन् ।
स्थायी समितिको बैठकमा सहभागी एक नेताले संसारन्यूजलाई भने ‘माधव कमरेडको बोल्ने पालो नआएपनि उहाँले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा प्रतिक्रिया मात्र दिनुभएको हो, मिडियामा जे जसरी आएका छन्, त्यसमा सत्यता छैन ।’ तर उनले स्वीकार्दै भने ‘जब प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी एकताको पहल आफैले गरेको, एकता भाँड्नेहरुलाई सुईँको नदिएर एकता सफल गराएको, बहुमतभन्दा बढीको लोकप्रिय मत आफैले ल्याएको, राष्ट्रियताको मुद्धामा संस्थागत गरेको, विकास निर्माणका काम गतिले बढाएको, काठमाडौँका खाल्डाखुल्डी पुरिएको जस्ता कुरा बोल्ने क्रममा माधव कमरेडले बिचैमा ‘साँखुतिर हेर्न जाने हो?’ भनेर अध्यक्षलाई सोध्नु भएको थियो । कुरा यति मात्र हो ।’
अर्को एक स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री ओलीले खाल्डाखुल्डी कहिँ रहेका होलान्, त्यो पनि रहँदैन अब भन्दै पार्टी एकताको मसी सुक्न नपाउँदै बहुमत पु¥याएर गलाउने र ढलाउने सम्मका योजना बनाएका प्रति ओलीले कटाक्षे गरेका थिए ।