
१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी गरि पहिलो दिनको बैठक सकिएको थियो । आजको बैठकमा यसअघि तय गरिएको एजेण्डाबारे छलफल हुने नेकपाले जनाएको छ ।
बैठकमा विवादास्पद अमेरिकी आर्थिक सहायता कार्यक्रम एमसीसी, सीमा विवाद, सरकार र पार्टीको कामको समिक्षालगायतका विषयमा छलफल हुनेछ । कार्यसूचीको विविधमा रुकुमपश्चिम घटना, नागरिकतासम्बन्धी विधेयकलगायतका विषय पनि छन् ।
आजको बैठकमा नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापालगायतका नेताहरु बोल्ने कार्यक्रम छ ।