
हो म एकान्तमा बस्दै, थोरै क्षण बिताउँछु
प्रकृतिमा रमाएर, आनन्द यो कमाउँछु
फुलेको छ कुनै बोट, कोपिला छ कुनै कुनै
कोही अग्ला खडा देख्छु, ढलेकाछन् कुनै कुनै ।
डुल्दा पाखा पखेरामा, दुःख पीडा हराउँछन्
चिसो चिसो हवा चल्दा, आशाहरू पलाउछन्
राता निला पहेंला छन्, फूल थुङ्गा हरा भरा
एका एक नियाल्दै छु, घुम्दै फिर्दै गरा गरा ।।
बोलाउछन् सुसेलेर, हेर्छु मात्र म बोल्दिन
हाँसो खुसी समेटिन्छन्, भित्र भित्रै म खोल्दिन
लागेका छन् कतै चोट, औषधी को अभाव छ
छप्काउछन् दया छैन, सौम्यताको सखाप छ ।।
कोही आए दिलै खोली, प्रकृतिमा रमाउन
कोही आए दुखाएर, स्वार्थ लुट्दै कमाउन
कोही भन्थे दियो बाल,उज्यालो होस् कुना कुना
गाँस्न जान्दा मिलाएर, पातबाट हुने दुना ।।
छन्दः अनुष्टुप