
१.
अन्धकार जीवनको, आलोक तिमी हौ,
लाग्छ मेरो तिर्खा, अनि भोक तिमी हौ ।
चाहना लाग्नै छोडयो, अन्य विलासको,
किनकी मेरो निमित्त, सबथोक तिमी हौ ।
२.
कति ध्यान गर्दापनि, असल ज्ञान मिल्दैन,
अभागिलाई सोचे जस्तो, बरदान मिल्दैन ।
चाकडि गर्न नसिक्दा, हामी पर्यौ पछाडि,
यत्तिकै त कसैलाई पनि, सम्मान मिल्दैन ।
३.
अचेल नाता सम्बन्ध, औकात हेरेरै जोडिन्छ,
झन यो मित्रता महंगो, सौगात हेरेरै जोडिन्छ ।
यो युगमा आउँदा, मान्छेको सोचाई फेरिएन,
दुःख पो लाग्छ, प्रेम पनि जात हेरेरै जोडिन्छ ।
४.
देशभक्तको नाउँमा, घातक छारो हालिएको हो,
सत्तानै टिकाउनलाई, नयाँ घारो हालिएको हो ।
लुटेराहरुको झुण्डले, केहि नयाँ उपलब्धि गर्दैन,
बस अर्को चुनावको लागि, चारो हालिएको हो ।
५.
स्वार्थ देखिएपछि, तिम्रो माया अनुपम लागेन,
र हाम्रो भेटघाट, मलाई प्रेमिल सङ्गम लागेन ।
पुच्छ्रेतारा जसरी, एकैछिन चम्कियौ बिलायौ,
त्यसैले छुट्टिनु र मिल्नुमा, फरक कसम लागेन ।
बेनि नगरपालिका १ रत्नेचौर म्याग्दी