
इतिहासको
साँगुरो सुरुङ्ग
चिप्लो बाटो,
पत्थरिलो जमिन
मिहेनतको
रापले चुहिएको
तातो पसिना,
बगेर निधार हुँदै
नाकको टुप्पो बाट
तप्प खस्यो भुईमा
खोपिल्टो पार्दै बिलायो ।
कहर पूर्ण जिन्दगीको
उराठ लाग्दो दिशाहिन यात्रा,
चक्रब्युहमा फसेको अभिमन्युले झै
गरेका उन्मुक्तिका सबै प्रयत्नहरु
बेथितिका संवाहकहरुको
इतिहास निमोठ्ने कायरहरुको
हर प्रहारले क्षत बिच्छेद जीवन,
फेरि कहिल्यै नब्युतने गरि
अनन्तमा दुःखद बिलय भयो ।
हरेक युगको प्रारम्भ,
अनि त्यसको अन्त्य
यसरीनै
बिगतका सबै थीतिहरु,
मिचेर जीवनका मूल्यहरु
कुल्चिएर मुर्झाईएका
आस्थाका चाँङ्गहरु
शक्तिको आडमा,
उर्वरताको नाममा
रगतको धाराले
धरती सिञ्चन गर्न,
बेहिचक मानव जीवन
आहुति चढाईयो ।
खै ! कहाँ फल्यो अमृत ?
सञ्जीवनी भनेको बोटमा !
बिहानको कलिलो सुर्य तानेर
मध्यान्न बनाउने हतारको खेलमा
कति,सफल भयौ ?
आज ?
सुर्य क्रमशः बिहान हुँदै
मध्यान्ह छिचोल्दै
साँझमा ओईलाएको त
आदिम युगमा नै थियो !
अहिले के फरक भयो ?
सबै निरर्थकताको उपज,
आफ्नै कार्यशैलीको उपहार !
हो कि ?
हो दोष अरु कसैको ?