
बजारमा साँढेहरू एकछत्र राज गर्न जुट्छन्
फुटपाथका झीना मसिना जीवहरूलाई कुट्छन् ।।१।।
गर्दैनन् आफू केही पनि, बरालिन्छन् यताउता
गरीवको रगत पसिना, निस्फिक्रीले लुट्छन् ।।२।।
एक नम्बरी जाली फटाहा, चोखो हुने आफू सधैं
सोझासीधा फसाएर, जालबाट आफू छुट्छन् ।।३।।
लड्डु जुधाई चिनी झारी, खाने तिनको बानी
शंका मात्रै हुनुपर्छ आफ्नैलाई नि चुट्छन् ।।४।।
भेडा बन्नुपर्छ तिनलाई, जान्ने भए सकिने
दास बन्नु पर्ने बाँच्न, बुद्धि हुने मात्रै छुट्छन् ।।५।।
चाँगुनारायण नपा-२, झौखेल, भक्तपुर