
१४ असार, काठमाण्डौं । अफ्रिकामा कार्यरत दश नेपालीमा कोरोना संक्रमण भएको छ । दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्टमा कार्यरत नेपालीमा कोरोना संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पुर्वकेन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार संक्रमित दश जनामा तीनजना कोरोना संक्रमणबाट निको भएर सामान्य जीवनमा फर्किएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समयमा अफ्रिकामा पनि तिब्र रुपमा बढीरहेको छ । अफ्रिकामा हालसम्म ३ लाख ६० हजारमा कोरोना संक्रमण देखिएको छ भने ९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
एनआरएनद्धारा कोरोनाबाट बच्न प्रशिक्षण कार्यक्रम
अफ्रिकामा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल स्वास्थ्य समितिले अफ्रिकाका एनआरएन नेतृत्वलाई कोरोना संक्रमणबाट बच्नका लागि सचेतना प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
शनिबार जुम भिडियो मिटिङमार्फत् दिइएको उक्त प्रशिक्षण कार्यक्रममा स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटा (अमेरिका), डा. पुस्पराज भट्टराई (दक्षिण अफ्रिका), डा. बिजय ज्ञवाली (जापान), डा अर्चना श्रेष्ठ (नेपाल) र डा उत्तम गाउले (अमेरिका) ले अफ्रिकाका एनआरएन नेतृत्वलाई कोरोना संक्रमणबाट बच्ने उपाय र रोग संक्रमण भइसकेपछि अपनाउनुपर्ने साबाधानीका बारेमा जानकारी दिएका थिए ।
तीन घन्टा समम चलेको उक्त प्रशिक्षणमा अफ्रिकाका ९ वटा देशका एनआरएनहरुको उपस्थिति रहेको थियो भने संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले कोरोनाको सचेतना र यसले पारेको प्रभावबाट बच्नका लागि देशभित्र र बाहिर एनआरएनएले गरिरहेको राहत कार्यका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले अफ्रिकामा नेपालीहरुमा कोरोनाले पारेको प्रभाव र एनआरएनए अफ्रिका राहत कोषका बारेमा जानकारी दिएका थिए ।