
“बुवा ! मेरो मोटरबाइक थोत्रो भयो । घरीघरी बिग्रन्छ । एउटा नयॉं बाइक किनिदिनुहोस न । एउटा आइफोन पनि है । घरको फ्रिज, टिभी र दराज पनि पुराना भए, नयॉं किन्नुहोस् न ।’ सुन्दरले मनबिर सँग भन्यो ।
‘काम चलिरहेकै छ बाबू । बिग्रियो भने मर्मत गरौंला । नयॉं किन्ने कुरा नगर । मेरो कमाईले तेरो मात्र हैन् भाइ बहिनीलाई नि पढाउनै पर्यो । घर व्यवहार पनि चलाउनै पर्यो । मनबिरले भने ।
‘ह्या ! बुवा पनि कति धेरै कन्जुस हुनुहुन्छ ? साथीहरूको घरमा सबै चिजहरू नयॉं छन् । सबैको बाइक नयॉं छ आइफोन छ । मलाई त साथीहरूको अगाडि पर्न पनि लाज लाग्छ । जसरी पनि किन्नै पर्छ ।’ सुन्दरले दबाब दियो ।
परिस्थिति फेरियो । मनबिर कमाई गर्न नसक्ने बुढो भए । सुन्दरले पहिले मनबिरले काम गरेकै कम्पनिमा काम गर्न थाल्यो । बिहे गरेर एउटा घोर्ले छोरो पनि जन्मायो ।
‘उफ ! कस्तो उखरमाउलो गर्र्मी ! यो पंखाले पनि हावा फाल्नै छोड्यो । धेरै पुरानो भयो । एउटा नयॉं पंखा किनेर जोड न बाबू ।’ रुमालले पसिना पुछ्दै मनबिरले भने ।
‘अलिअलि घुमेकै छ । अझै बिग्रियो भने मर्मत गरौंला नि । मर्मत गरे अझै पॉंच सात वर्ष चलिहाल्छ । फेरि हजुर बुढो मान्छे, धेरै पंखाको हावामा पनि बस्न हुन्न । बिरामी हुन बेर लाग्दैन् । भो अहिले नयॉं नकिनौ है बुवा ।’ सुन्दरले भन्यो ।
‘हैन, हिजोआज के भएको छ तलाई ? पहिले पहिले त पुराना सामानहरू मर्मत गरेर चलाउन मान्दैनथिस् । सबै चिज नयॉं चाहिन्थ्यो । अहिले एउटा पंखा फेर्न भन्दा पनि मान्दैनस् ।’ मनबिरले भने ।
सुन्दरले बुवाको अनुहार हेर्दै भन्यो, ‘बल्ल मेरो घैंटोमा घाम लाग्यो, बुवा । कुनै पनि चिज आफ्नो पसिनाको कमाईले किन्न परे, इच्छाहरु आफै घट्दा रहेछन् ।’
बुटवल–११, रुपन्देही