बा को निन्द्रा हरायो बन पाखा अनि टाकुरा सम्झेर ।
आमाको निन्द्रा हरायो चर्केका भित्ता माकुरा सम्झेर ।
आमा कहिले काँही रमाएकी हुन्थिन् त्यो बेलामा
धान बियाडमा टुसाउदै गरेका नयाँ आँकुरा सम्झेर ।
बा ढिकी कुट्दा कुट्दै गलेर छेउमा बसि खुई गर्दै
सुर्ती खादै दुस्ख भुल्थे तिघ्रा अनि पाखुरा सम्झेर ।
ठूला गौचरन माली गाउँका हराए आज भोलि किनहोला
आमै झस्किन्छिन् महल ठुला मन सागुरा सम्झेर ।
बाबै अन्तिम सास फेर्दै छन आफ्नै घरको पिडिमा
बेला बेला आँसु झार्दै आफ्ना काम अधुरा सम्झेर ।