काजी साहेबको बारीमा फुण्डा फुण्डी मकै र किर्कौंले आलुभन्दा पर केही नफलेपछि यसपाली देखि बारी कमाउने मान्छे कोही भएन । सिंगैबारी बाँझिने भो भनेर पिर परिरहेको बेलामा राम बहादुर बारी माग्न पुग्यो, ‘के खोज्छस् काना आँखो’ भनेझैं काजीलाई देउतै भेटे झैं भयो । राम बहादुरले अधियाँ बारी कमाउने भयो ।
चराको बिष्टाभन्दा पर कुनै मलखाद नपरेर रूखिएको बारीमा जंगली रूख विरूवाधरि किक्रिक्क परेर कचल्टिएका थिए ।
राम बहादुर सारै परिश्रमी, मेहनती र लगनशिल किसान थियो । मलखाद हालेर बारीलाई खनजोत गर्यो र बारिभरि आलु रोप्यो । आलुका बोट यस्ता आए कि जस्तै हतारमा हिँडेको मान्छेपनि एकछिन कम्मरमा हातलाएर आलुबारी हेरेर लठ्ठै पथ्र्यो । पछि आलु फले एक पावा भन्दा माथिका दाना एउटै बोटमा एकढाकी सम्म आए । आलू फलेको हेर्न कृषि बिभाग, पत्रकार, टिभी च्यानल सबैसबै पुगे । सबैतिर आलुको चर्चा भयो । गाँउमा पनि गाँउलेले भन्दै थिए ‘यसपाली भने बल्ल राम बहादुरको भाग्य खुल्यो,यसपाली त उसले सरकारबाट पुरस्कार र तक्मा पाँउछै पाँउछ ।’
हो म पनि यस्तै सोच्दैथिए, स्थानिय टिभि च्यानलमा समाचार आयो-
‘काजी साहेवलाई यो वर्षको उत्कृष्ट किसान पुरस्कारको राशी पचास हजार रूपैंया र सम्मानपत्र कृषिमन्त्रीबाट प्रदान गरियो ।’