
आँगन छुट्टिनु अगाडि
कसैले नदेखिने गरि
झारेको थिएँ मैले पनि
केही थोपा सुस्केरा
मेरो चिनो भनेर
गाउँको मनमा ।
सहर पसें त्यसपछी
बिर्सें गाउँको बाटो
तर पनि
निकै दिन गाउँलाई
मनमा खोजिरहें
सपनामा भेटिरहें ।
एकदिन मैले फेरि
सहरलाई विदा गरें
बादलभित्र सयर गर्दै
गाउँ सम्झें, सहर सम्झें
नयाँ आकाशको कल्पना गरें
त्यसपछी म फेरि
कता पुगें पुगें ।
आजभोलि
हरेक रात
व्यस्तताबाट थकाईलाई केलाएर
सम्झिन थालेको छु
आमाको मुहार
बाको काँध
साथी दौंतरिको साथ
अनि मुटुभरी सजाइरहन्छु
माटोलाई, झण्डालाई अनि
मनमनै आफूलाई सम्झाउँछु
जे छ गाउँमा छ, सहरमा छ
आफ्नै माटोमा छ
अनि देशमा छ ।