
२० असार, काठमाडौँ । सत्तारुढ दल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको आज शनिबारको बैठक अचानक स्थगीत भएको छ ।
शनिबार ११ बजे बालुवाटारमा बस्ने भनिएको बैठक अचानक स्थगित भएपछि बालुवाटारको नजिकै पुगेका केही सदस्यहरु ‘अचानक’ भन्दै गन्तव्यमा फर्किएका हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा भारतले मागेको र त्यसमा पार्टीकै नेताहरु समेत प्रयोग भएको अभिव्यक्ति दिएपछि नेकपामा पछिल्लो विवाद बढेको थियो । सो विवाद बढ्ने क्रममा स्थायी समिति बैठक चल्दै र स्थगीत हुँदै आएपनि आज विहानसम्म स्थगीत नगरिएको बैठक एक्कासी स्थगन गरिएको सूचना दिइएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने कुरामा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित ३० जना स्थायी समिति सदस्यले बैठक गरेलगत्तै ओली निकट केही नेताले मध्यमार्गको पहल गर्न प्रचण्डसँग अनुरोध गरेका थिए ।
नेकपा श्रोतका अनुसार पार्टी एकता बचाउने गरी विवाद मिलाउने काममा दुई अध्यक्ष लगायत वरिष्ठ नेताहरुले समय लिनुपर्ने भएपछि बैठक स्थगन भएको हो ।