
मेलापात गरिरहने असङ्ख्य पैतालाहरू
कतै लापत्ता भएका छन्
असरल्ल यी चप्पल छाडेर
जुत्ता लगाउन सकेको भए
पैतालाले पनि साथ छाड्ने थिएन सायद
चप्पल जो थियो
भागमभागको धपेडी
र
धपेडीजन्य पसिनाले
प्लित्त चिप्लिदियो खुट्टाबाट
बिराम यति मात्र थियो
(मल बिउ पाउन मोर्चाबन्दी गरेका थिए
(खाध्यसम्प्रभुताको अधिकार माग गरेका थिए
भोको पेट
लुलिएका खुट्टा
र
चुँडिएको फित्ता
नियतिले जुटाइदिएको हो यी सबै निहुँ पनि
कसिलो बुट बजार्दै लखेट्नेसङ्ग
रस्साकस्सीमा उत्रन सकेनन् सायद
त्यसैले
अपराधका सबुत चप्पल छाडेर
कता भागे भागे पैतालाहरू!
सुन्दैछु
केही पाइताला मुग्लान
र
केही पाइताला रेगिस्तान
पुगेका छन् रे !
कल्पना गरौं !
पैताला नै नभएपछि के ले दौड जितिएला?
र
कोही अमूकको गलामा
कसरी झुण्डिएला अब पचास किलोको माला ?