१७ पुस,जाजरकोट । बस्ने बास छैन । खाने गास पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट–५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र ३७ वर्षीया दुर्गादेवीको जोडीलाई अर्काको घरदैलो नचहारी हातमुख जोडिँदैन ।
रिठाको रूखबाट लडेर १२ वर्षकै उमेरमा कृष्णबहादुरको देब्रे हात भाँचियो । घरेलु उपचार भरमा उनको हात पूर्व अवस्थामा फर्कन सकेन । अपाङ्ग जीवन जिउँदै आएका कृष्णबहादुरको दुई वर्षअघि सिँडीबाट लड्दा देब्रे खुट्टा पनि भाँचियो ।
घरेलु उपचार गरेपनि उनको खुट्टा पनि पूर्वअवस्थामा आएन । पत्नी दुर्गादेवी पनि दुई वर्षकै उमेरमा चुलोमा परेर पैतला जल्दा देब्रे खुट्टाकै अपाङ्ग छिन् । उनीहरू दुवै लट्ठीको सहाराले हिँडडुल गर्छन् । बाइस वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडी सन्तानविहीन छ । एक खुट्टा तथा लट्ठीको सहाराले गाउँगाउँ माग्न पुग्ने गरेको कृष्णबहादुरले बताउनुभयो । घरदैलोमा पुगेर नमागे पेट कसरी पाल्ने ? उहाँले बताउनुभयो । गाउँमा दाजुभाइ छन् तर वास्ता गर्दैनन् । जन्माउने आमाबाबु र जीवनसाथीबाहेककाले दुःखमा साथ नदिएको उहाँले बताउनु भयो ।
“जता गए पनि दुर्गादेवीलाई साथै लिएरै जान्छु । मेरो जीवनको सहारा नै उनी हुन् । सम्पत्ति पनि उनी नै हुन् ।
कहिले एक खुट्टाले टेकेर, कहिले घिस्रेर गन्तव्य पुग्ने गरेको उहाँ बताउनुहुन्छ । माग्नका लागि छिमेकमा मात्र हैन । थलहबजार, सल्लीबजार, सदरमुकाम खलङ्गालगायत पुगेर दुई तीन सातासम्म घुमिरहने उनीहरुको दिनचर्या रहेको छ ।
अपाङ्गलाई सरकारले रेखदेख गर्न नसकेको उहाँको भनाइ छ । गरिब र अपाङ्गता भएर पनि कुनै पनि सरकारी सुविधा नपाएको कृष्णले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि गाविस कर्मचारीले परिचयपत्रका लागि सिफारिस नदिएको उहाँले गुनासो गर्नु भयो । रासस
वि.सं.२०७३ पुस १७ आइतवार ०४:१६ मा प्रकाशित