
काठमाडौं । अमेरिका फेरि एक पटक कोरोना संक्रमणका कारण संकट उन्मुख देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार संक्रमण र मृत्युदरको तथ्यांकले दैनिक नयाँ रेकर्ड बनाउँदै लगेसँगै संकट उन्मुख देखिएको हो ।
जनाइएअनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार बढि संक्रमितको मृत्यु भएको छ । जोन होपकिंस विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मंगलबार मात्रै २ हजार १४६ को मृत्यु भएको थियो ।
मंगलबारको तथ्यांक ६ महिना यताकै सबैभन्दा बढि हो । यसको साथै कोरोना संक्रमणका कारण मर्नेको संख्या २ लाख ५९ हजार ९२५ पुगेको छ ।
साथै अमेरिकामा बितेको २४ घण्टामा मात्रै १ लाख ७२ हजार ९३५ संक्रमित भेटिएका थिए । जससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ९१ हजार १६३ पुगेको छ ।
केहि राज्यमा कर्फ्यु
संक्रमितको संख्या र संक्रमणबाट मृत्यु हुनेको संख्या आक्रामक बढेसँगै अमेरिकाका कतिपय राज्यले भने कर्फ्यु नै लगाउन सुरु गरेका छन् । क्यालिफोर्निया र ओहायो राज्यले संक्रमण नियन्त्रण गर्न यस्तो उपाय पुनः प्रयोग गरेका छन् ।
क्यालिफोर्नियामा रातको समय हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ भने ओहायोमा समुहमा हिँडडुलमा कडाई गरिएको छ ।
जनाइएअनुसार सबैजसो प्रान्तले मास्क भने अनिवार्य गरेका छन् । पछिल्लो संक्रमणको नयाँ रेकर्डसँगै मास्क नलगाउनेलाई कारबाही सुरु गरिएको छ ।