१० मंसिर, काठमाडौं । नारायणगढ पुगेका पूर्वयुवराज पारस साहलाई छातिमा अचानक समस्या देखिएको छ ।
सोमबार भैरहवाबाट आफै गाडी चलाएर चितवन पुगेका साह चितवनको होटल सेन्ट्रल पाल्ममा बसेका थिए । अचानक छातिमा समस्या देखिएपछि चितवन मेडिकल कलेजको चिकित्सकको टोली साहको उपचारका लागि होटलमै पुगेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले संसारन्युजलाई जानकारी दिएका छन् ।
निर्देशक देवकोटाका अनुसार साहलाई छातिमा समस्या भएको जानकारी पाउनासाथ अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीको टोली होटलमा पुग्दा छाति दुख्न केही कम भएको साह आफैले बताएपछि डाक्टको टोली फर्किएको थियो । ‘डा रेग्मीको टिम पुगेको थियो, साह आफैले छाति दुख्न केही कम भएका र आराम गर्ने बताएपछि टिम फर्किएको हो । इसिजी नगरी केही भन्न सकिने अवस्था छैन । उहाँको अवस्था त्यति गम्भीर पनि देखिएको छैन । उहाँका सहयोगीले समस्या आएमा जानकारी दिने भन्नु भएको छ । त्यस्तो केही समस्या आएमा उहाँको उपचारका लागि हामी स्टान्डबाइ रहेका छौं ।’
शाहमा पहिलेदेखि मुटु सम्बन्धी समस्या रहेको छ । त्यहि समस्या दोहोरिन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाइएको पनि निर्देशक देवकोटाले बताए । साहलाई यसअघि थाइल्याण्डमा रहेका बेला हर्टअट्याक आएको थियो ।
वि.सं.२०७७ मंसिर १० बुधवार २२:१५ मा प्रकाशित






























