
२४ मंसिर, काठमाडौं । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं १ को बर्खेमा एकाबिहानै एक शिक्षकको हत्या भयो । बिहानै ४-५ जनाको समूहमा आएर प्रधानाध्यपक राजेन्द्र श्रेष्ठलाई अपहरण शैलीमा एक कि.मी परको जंगलमा लगेर हत्या गरिएको अवस्थामा उनको शब फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अज्ञात समूहले श्रेष्ठको हत्या गरेको जानकारी दिएको केही समयमै प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहले घटना आफ्नो पार्टीले घटाएको भन्दै विज्ञप्ति नै जारी गर्यो ।
चन्द समूहद्धारा जारी विज्ञप्तिका अनुसार शिक्षक श्रेठको हत्या गरेर झण्डै १ वर्षअघिको रिसइबी साँधेको देखिन्छ ।
‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी बोलाएर अप्रेसन समेत सञ्चालन गराएका थिए ।’ समुहद्धारा मंगलबार बार जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा अप्रेसन गराई व्युरो सदस्य कमरेड काशीराम घिमीरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’
श्रेष्ठले जनताको घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका कार्यकर्तालाई बस्न खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेको समेत समूहको आरोप छ ।
‘नेकपाका नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेका निज राजेन्द्र श्रेष्ठले २०७७ साल साउन देखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिबिधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा उग्र गतिबिधि गरिरहेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई यसपटक सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको सबैमा जानकारी गराइन्छ ।’ समूहका मेची–कोशी व्यूरोका इन्चार्ज प्रतापद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।