२४ मंसिर, काठमाडौँ । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढा घुस सहित पक्राउ परेका छन् ।
खरिदार खनाल र लेखापढी व्यवसायी बुढासमेतले जग्गा नामसारी गर्दा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले निज खनाल र बुढालाई सेवाग्राहीबाट रु. ५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गराउने सिलसिलामा घुस माग गरी लेखापढी व्यवसायी बुढालाई लिन लगाएको र निज बुढाले खनालको निमित्त सेवाग्राहीबाट उक्त घुस लिएको अवस्थामा बरामद भएको हुँदा दुवैलाई उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।