
२६ मंसिर, लण्डन । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा नेपाली लगायत अन्य विभिन्न परिकार बनाएर उनले विश्वस्तरमा नेपाललाई चिनाईरहेका छन् ।
उनले विहिबार राति सेमिफाइनल अन्र्तगत भएको प्रतियोगितामा निर्णायक मण्डललाई नेवारी परिकार ‘योमरी’ चखाएका थिए । योमरीको स्वादमा सन्तुष्ट भएका निर्णायक मण्डलले उनलाई चिकन चिल्ली, हट एण्ड सावर सुप, क्रिस्पी नूडल्स लगायतका इन्डो चाइनिज परिकारहरुको अनुरोध गरेका थिए ।
३२ जना व्यावसायिक सेफहरु सहभागिता रहेको ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सन्तोष विभिन्न चरणमा नेपाली परिकार चिनाउदै टप ६ सम्म पुग्न सफल भएका छन् । प्रतियोगिताको फाइनल अर्को हप्ता डिसेम्बर १७ तारिखमा हुँदैछ । नेपाली खानालाई विश्वसामू चिनाउने उनको यात्रा निरन्तर रहेको छ ।