कृष्ण पक्षको शिशिरे रातझैँ
कठ्याङ्ग्रिएको मनको आगन
तुसारोले लपक्कै खाएको समयको
मान्द्रोमा सुकाएको जीवनको विस्कुन
कहिल्यै उज्यालो भएन ।
इच्छा र आवश्यकता एउटै भएर
हो वा यो दुवै नभएर हो आङभरमा,
भोलिको प्रभाती किरण कहिल्यै छाएन
बरु बरफको जीवनझैँ
जम्न खोजिरहेको छ मन्द गतिमा
जीवनको एक अनुच्छेद ।
भीरमा फलेको चिण्डो जस्तो
विरोधाभाषमा हिमाल चढेको आरोही जस्तो
प्रेमील ऊर्जाहरू नै
मनको क्यान्भाषमा उत्रिन बाँकी आफ्नै प्रेमीकाको
उदास अनुहार सम्झेर
लहरै भोलिका सपनाहरू
आत्महत्याको पासोमा पर्नुभन्दा
क्यान्सरले मृत्यु पर्खिरहेकी नवदुलहीझैँ
दिनदिनै डढिरहेको छ मन्द गतिमा
जीवनको एउटा अनुच्छेद !
महान् स्रष्टाको सृजनाले अनुमोदन नगरेको भावना
महान् योद्धाको वीरताले नउम्लिएको रगत
महान् बैज्ञानिकको आविष्ट्कारले नछोएको अनुसन्धान
महान् राजनीतिज्ञले प्रतिपादन गरेको
सिद्धान्तले नछोएको आस्था आदिको संयुक्त हृदय नै
सुसाइरहन्छ मन्द गतिमा
जीवनको एउटा अनुच्छेद !
जीवनको प्रत्येक शुक्ल पक्षमा
बसन्ती रजनीको गर्भमाझैँ
रातको अन्तिम प्रहरमा फक्रिएको इन्दु पनि
हृदयको नयनले सेक्न नपाउँदै
पूर्वी क्षितिज मुस्कुरायो
के जीवन भनेको मनमा डढेलो
र बैशाखीविनाको लङ्गडो मात्र हो ?
सायद् ! अझै पनि
वैराग्यहरूको अर्धजल छोएर बगिरहेछ
अविरल मन्द गतिमा
जीवनको एउटा अनुच्छेद !!