
३० मंसिर, मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका–२ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्ख दुई बर्ष पूरा भए । उनि दुई बर्षको नाबालक अवस्थामै आमाबाबुको मृत्यु भएको थियो ।
२०७५ असोज अन्तिममा जन्मेका रामकृष्ण आमाको गर्भभित्र ५ महिनाको हुर्कदै गर्दा उनका बुवाको काठमांडौमा ज्याला मजदुरी गर्न गएको बेला लडेर मृत्यु भएको थियो भने उनि भर्खरै दुइ बर्ष पुग्दा घाटीको समस्याका कारण उपचारकै क्रममा ०७७ असोज ५ गते जिल्ला अस्पताल मुगुमा उनकी आमाको पनि निधन भयो । आमाको दुध खान नछोड्दै र आमाकै काखमा लडीबुडी गरेर खेल्ने अवस्थामै उनि आमा बाबुबिहीन अवस्थामा पुगे ।
रामकृष्णसंगै अर्का ६ बर्षिय उनका दाजु हरीकृष्ण तिरुवा पनि थिए । आफ्ना बुवाको मृत्यु हुँदा हरी ३ बर्षका मात्र थिए । उनीहरु सानै हुँदा बाबुआमाको मृत्यु भएपछि उनिहरुको साहारा विहिन हुन पुगे । उनीहरुको यस्तो अवस्था देखेपछि मुगुका संचारकर्मी अच्युत भण्डारीले उनीहरुको हेरचाह र पठनपाठनका लागि बालग्राम एसओएस सुर्खेतमा पहल गरे । उनको यो पहललाई एसओएस सुर्खेतका निर्देशक मुकुन्द कुमार गिरीले पनि पूरै साथ सहयोग गरेपछि यि दाजुभाइको सम्पूर्ण जिम्मा बालग्राम एसओएसले लगेको छ ।
दलित परिवारमा जन्मिएका दुई दाजुभाइलाई मजदूरी गरेर हुर्काएकी आमाको पनि मृत्यु भएपछि बेसाहारा बनेका यी दुईभाइको एसोएस नै अभिभावक बनेको छ यतिबेला ।
“सानो नाती बुहारीको गर्भमा ५ महीनाको हुर्कदै थियो । ठूलो नाती २ बर्ष पुगेको थियो छोराको मृत्यु भयो । त्यसपछिका दिनमा बुहारीले दुबै नातीलाई पालन पोषण गराएकी थिइ, उस्लाइ पनि दैबले चुडेपछि हामी सबै वेसाहारा बनेका थियौँ,’ ६६ बर्षिया हजुरबुवा भक्त तिरुवाले आसु झार्दै दुखेसो पोखे, ‘यि टुहूरा नाबालकको पालन पोषण र भठनपाठन कस्ले गर्देला भन्ने चिन्ता ठूलो चिन्ता थियो, यस्तो अवस्थामा नातीहरुको सबै जिम्मा यस संस्थाले लिग्यो, हाम्रो लागि यो संस्था भगवान आएजस्तो भयो ।’
घरमा उब्जेको अन्नपातले तीन महिना पनि खान नपुग्ने र आमा बाबुको पनि मृत्यु भएपछि ती दाजुभाईको साहारा ६६ बर्षिया हजुरबुवा र ६३ बर्षिया हजुरआमा बाहेक अरु कोही थिएन ।
अबका दिनमा उनिहरुको हेरचाह, पालनपोषण र कक्षा १२ सम्म पठन लगायत सम्पूर्ण जिम्मा बालग्राम एसओएसले लिएको निर्देशक मुकुन्द कुमार गिरीले बताए ।
‘मंसीर २३ गते दुबै दाजुभाइको भर्ना गरि हाम्रो बिद्यालयले जिम्मामा राखिसक्यो अबको एक सातापछि दुबै दाजुभाइ सहीत अन्य १२ जना बच्चाहरु बालग्राम एसओएस केन्द्रीय कार्यालय सानो ठिमी भक्तपुर पठाइने छ’ निर्देशक गिरीले भने, ‘अब रामकृष्ण र हरी कृष्णको हेरचाह, पालनपोषण र पठनपाठनको जिम्मा हाम्रो संस्थाको हुने छ ।’