
काठमाडौं । गणपुरक संख्या नपुगेसँगै मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठक अनौपचारिक छलफल गर्दै स्थगित हुन पुग्यो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा केही अडान राख्दै अनुपस्थित भएका थिए ।
सापकोटा निकट स्रोतका अनुसार उनले तीन कुरामा अडान राख्दै अनुपस्थिति जनाएका छन् । बैठक बस्ने कुरामा समन्वयन नभएको, तयारी नदेखिएको र गृहकार्य नभएको उनको भनाई छ ।
पार्टी विवाद परिषदको बैठकमा
सभामुख सापकोटाले यसअघि पनि संवैधानिक परिषदको बैठक बहिस्कार गरेका थिए । पार्टीभित्रको विवाद बढिरहेका बेला उनले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । संवैधानिक परिषदको नियुक्तीको विषयमा पार्टीभित्र सहमती नभईरहेको बेला सापकोटाले बहिस्कार गर्ने निर्णय लिएका हुन् ।
पछिल्लो समय नेकपाभित्रको विवाद चरमतातर्फ छ । जहाँ एकले अर्कोलाई अस्वीकार गरेर जाने शैली अपनाइएको छ ।
संवैधानिक परिषदमा ओलीले एकल रुपमा नियुक्ती गर्न चाहेका छन् । जसले पनि पार्टीभित्र थप विवाद बनाईरहेको छ । सभामुख सापकोटाले उक्त विवादलाई अध्यक्ष प्रचण्डको तर्फबाट प्रतिनिधित्व गर्दै बैठक बहिस्कार गरेको नेकपा निकट स्रोतको भनाई छ ।
हाल एक दर्जन संवैधानिक निकायमा पदाधिकारी रिक्त छन् । अख्तियार दुरुपयोग आयोग, निर्वाचन आयोगलगायतमा नेतृत्व बिहिन छन् । जहाँ ओली र प्रचण्ड आ–आफ्नो अनुकुलका मान्छेहरु नियुक्ती गर्न चाहिरहेका छन् ।
ओलीलाई कार्यविधिको बाध्यता
संवैधानिक परिषद बैठकसम्बन्धी कार्यविधि (संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐन २०६६ को दफ ६ ९३०)मा अध्यक्ष र कम्तीमा ४ जना सदस्यहरु उपस्थित भएमा बैठकका लागि गणपुरक संख्या पुगेको मानिने गर्दछ । तर, बैठकमा एक सदस्य अनुपस्थित भएपनि निर्णय मिल्दैन् । हाल उपसभामुख नभएको कारण एक सदस्य स्वभाविक रिक्त छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए। तर, सभामुख सापकोटा उपस्थित नभएसँगै बैठक अनौपचारिक मात्रै बन्न पुगेको थियो ।
प्रचण्ड पक्षलाई पेल्ने तयारीमा ओली तर सभामुखकाे अवराेध
आज स्थगित बैठक संवैधानिक परिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले आजै साँझका लागि बोलाएका छन् । उनले सभामुख सापकोटालाई बाध्यकारी बनाउन आजै बैठक बोलाएको बुझ्न सकिन्छ ।
कतिपय जानकार प्रमुख प्रतीपक्षी नेपाली कांग्रेससँग पदमा बाँडफाँड भएपश्चात ओलीले बैठक बोलाएको बताउँछन् । तर, सभामुख सापकोटा साँझ बोलाइएको बैठकमा पनि उपस्थिति हुने सम्भावना न्यून छ । पार्टीभित्र सहमती नगरी बैठक बोलाउनु ओलीका लागि अर्थहिन बन्ने निश्चित देखिन्छ । यसले नेकपाभित्रको विवाद थप बल्झाउने कतिपयको विश्लेषण छ ।