फागुन ६, काठमाडौं । विभिन्न आठ बीमा कम्पनीहरुले सर्वसाधारणहरुका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारण लागि आईपीओ निष्काशन गर्ने भएका हुन् ।
१० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभुम लाइफ इन्स्योरेन्सले यसअघि आईपीओ जारी गरिसकेका छन् । आईपीओ निष्काशन नगरेका आठ बीमा कम्पनीहरुले हाल कायम जारी पुँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्नेछन् । जसअनुसार सबै कम्पनीको तर्फबाट ५ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन हुनेछ ।
यसअघि रिलायन्स लाइफले ६५ करोड रुपैयाँ र प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेका थिए । उक्त शेयर अहिले दोस्रो बजारमा समेत कारोबार भईरहेको छ ।
आठ बीमा कम्पनी मध्ये कसको अवस्था कस्तो ?
आईपीओ निष्काशनको तयारीमा रहेका आठ बीमा कम्पनीमध्ये जगेडा कोषतर्फ रिलायबल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ । रिलायबलको जगेडा कोषमा ८० करोड ३ लाख रुपैयाँ सञ्चित । रिलायबलजस्तै युनियन लाईफ पनि जगेडा कोषमा अगाडि छ । युनियनको जगेडा कोष ७३ करोड १३ लाख बराबरको छ ।
रिलायबल जगेडा कोषमा मजबुद देखिएसँगै नाफामा पनि अगाडि छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायबल लाईफ इन्स्योरेन्सले १७ करोड ७९ लाख मात्रै खुद नाफा आर्जन गरेको छ ।
आठ कम्पनीमध्ये खुद नाफाका आधारमा सिटिजन लाईफ दोस्रो स्थानमा छ । सिटिजनले ११ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, ज्योति लाइफले १० करोड ७८ लाख, आइएमई लाइफले ७ करोड ४० लाख, युनियन लाइफले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरका छन्।
यसैगरी, सन नेपाल लाइफले ५ करोड ५६ लाख रूपैयाँ र सानिमा लाइफले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने सबैभन्दा कम ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
तथ्यांकमा कुनको अवस्था कस्तो ?

वि.सं.२०७७ फागुन ६ बिहीवार १४:१२ मा प्रकाशित


























