
आमाको त्यो हिम्मत, त्यो दृढता र त्यो मोह देखेर गौरव पनि लाग्यो भने अर्कोतिर विरामी पर्दा कता कता मातृसल्याको अभाव महसुस भएर होला आँखाहरु चिसा पनि भए । र सोचें आमाले त साथ दिन नसक्ने दिन आउने रहेछ भने अब धेरै अरुको आशा गरेर आफुलाई कमजोर बनाउनु भन्दा सके सम्म आफैं सर्भाईभ गर्नु नै कम दुखि हुने बाटो रहेछ जस्तो लग्यो ।
म विरामी परेर एक्लै एक्लै दिन बिताई रहेकी थिएँ । कोभिडको डरले आमालाई गैंडाकोटबाट काठमाडौँ बोलाउन सकेकी पनि थिइन् । किनकी आमा ८० वर्ष पार गरिसक्नु भएको थियो । त्यहि डरले दशैंमा समेत टिका लगाउन गएकी थिइन् । तर विहान बेलुका हस्बेंड घरमा भएपनि दिनभर भने एक्लै एक्लै बस्दा मनमा अनेक तरंग खेल्ने । बेड रेस्ट भने पछी गर्न केहि नामिल्लने र कहिले काहीं त ट्वाइलेट जान पनि साथी चाहिने हुँदा आमालाई बोलाएँ पनि । तर आमले भो यो बेलामा म आइन अलि पछी आउंछु भन्नु भयो, बढी कर पनि गर्न सकिन । हेरक दिन बिहान ८ बजे देखि १२ बजे सम्म अस्पतालमा थेरापीको लागि जानु पर्थ्यो । माघको २८ गते घर फर्किन संधै भन्दा अलि ढिला भएको थियो किनकि नेकपाको (प्रचण्ड-नेपाल) प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन भएकोले बाटो अस्तव्यस्त थियो । त्यस्तै १२:३० तिर घरमा आउँदा मेरो आमा र ठुलो दाजु मलाई भेट्न आउनु भएको रहेछ । देखेर खुशी पनि भएँ । नुवाइ धुवाई पछी आधा घण्टा जति खाना खाने, सन्चो विसन्चोको कुराकानी भए । त्यसपछी आमा दाजु अब हामी हिड्छौं भन्नु भो । दाजु त त्यही कार्यक्रम जाने नै भनेर आउनु भएकोले आएको बेला मलाई पनि भेटेर जानु स्वभावि थियो । तर आमा पनि संगै जाने हो भन्दै जुत्ता लगाउन तरखर गर्नुभयो । म अलि अप्सेट जस्तो भएँ र भने हजारौं र लाखौं मान्छेको भिडमा तपाईं जना हुन्न, एकातिर कोभिडको डर अर्कोतिर किल्चीएला भन्ने डर । त्यस्काे जबाफमा ‘म ८० वर्ष पार गरेकिलाई कोभिड लागे पनि केहि हुन्न लाखौं लाख युवालाई लगेर मर्न भएन । म त मरे पनि केहि हुन्न । यो सबिधानको लागि गरीएको प्रदर्शनमा जानु पर्दछ, मेरो लागि यो एउटा तिर्थ जस्तै हो, मैले मेरो धर्म निभाउनु पर्दछ …..। भोलि नेताले नराम्रो गरे पाप तिनै लाई लाग्छ, मलाई केहि पनि हुन्न, तिमीले आफ्नु ख्याल गरेर बस म फागुनमा आउँछु ।’ भन्नुभयाे । याे सुने पछि एक छिन् निस्तब्ध भएँ र फेरी पनि सम्झाएँ । तर मान्ने कुनै गुन्जायस रहेन र मैले पनि मन अमिलो बनाउँदै हस् भने ।
बिहान ५ बजे हिंडेकी बेलुका कति बजे कार्यक्रम सकिएर घर पुग्ने होला । भोक लागे त्यो भिडमा के खाने होला । ट्वाइलेट लागे के गर्ने होला ? कोभिड सरे के गर्ने होला ? मलाई त्यति मायाँ गर्ने आमा आज म बिरामी छोरी भन्दा पनि यो राजनीति, तो जुलुस कति प्यारो भएको होला ? त्यो राजनीति प्रतिको मोह कति सारो लागेको होला ? पढ्न लेख्न नजाने पनि सुनेको र देखेको भरमा पनि एक दर्जन जति समितिमा बसेर काम गरेकोले पनि होला । धेरै पहिले देखि पकाउने खुवाउने, लुकाउने गरेकोले पनि मायाँ लागेको होला…आदि मनमा कुरा खेलाएँ । एक मनले आमाको त्यो हिम्मत, त्यो दृढता र त्यो मोह देखेर गौरव पनि लाग्यो भने अर्कोतिर विरामी पर्दा कता कता मातृसल्याको अभाव महसुस भएर होला आँखाहरु चिसा पनि भए । र सोचें आमाले त साथ दिन नसक्ने दिन आउने रहेछ भने अब धेरै अरुको आशा गरेर आफुलाई कमजोर बनाउनु भन्दा सके सम्म आफैं सर्भाईभ गर्नु नै कम दुखि हुने बाटो रहेछ जस्तो लग्यो ।
मक्कामदिनाको भिडमा जस्तै आमा जोगाउँन गार्हो भएको भन्दै बेलुका ७ बजे कार्यक्रम सकिएर कलंकी पार गरेको र रति १२ बजे सकुशल घरमा पुगेको दाजुले जानकरी दिनु भयो र मन अलि ढुक्क भयो । तर फोटो खिच्ने मोबाइल घरमा छुटेकोले त्यो दिनको फोटो खिच्न नपाएकोमा आमाले गुनासो गर्नुभयो र भन्नुभयो ‘म जस्ताको तस्तै छु, अहिले सम्म कोभिडको कुनै लक्षण छैन, आइका छोरालाई बाइले खान्न’ ।
यस्ता कयौं आमाहरुको यसरीनै उपस्थिति भएको होला, कयौं युवा, अशाहाय, अपांग ….को उपस्थिति भएर त्यो काठमाडौँ शहर ढाकिएको थियो होला । आज यी सबै सबै आमाहरुको त्यो दिनको सपना भनु, आशा र विस्वास पुरा भएको छ । आमाको शब्दमा भन्नु पर्दा ‘ अब पनि नेताले गलत गरे पाप उनैहरुलाई लाग्छ ।’ राजनैतिक निकास मिलोस्, संधै सडकको राजनीति गर्न नपरोस् । जित र हार भन्दा पनि पद्धति र प्रणाली जे हुनु पर्ने हो त्यहि भएकोमा सबैले गर्व गर्नु र सम्मान गर्दै गल्ति कमजोरीहरुमा सुधार गरि अगाडी बढ्नु नै विकल्प र निकास हुन् सक्छ । जसरी सर्वोच्चको फैसलालाई जनताले सम्मान गरे त्यसरी नै पार्टी पद्धति र राजनैतिक निकास र अब बन्ने सरकारको संरचनालाई पनि आम नेपाली जनताले सम्मान र हाई–हाई गरुन् । लाखौं लाख बधाई तथा शुभकामना ।
आमा: टिकीसरा ढुंगाना, गैंडाकोट, नवलपुर
डा ढुंगाना गण्डकी प्रदेश योजना आयोग सदस्य हुन् -सम्पादक