तिम्रा दयाले जग सृष्टि हुन्छ
तिम्रै छ माया र त वृष्टि हुन्छ
थिए कथामा कति मर्म धारा
नारी छ तिम्रो महिमा अपार ।१।
सदा उनी हुन् ममता दिवानी
आमा भनी चिन्न सकिन्छ हामी
झिक्दैरहन्छिन् सबमाझ बाँड्ढछिन्
रित्तिन्न मर्दा पनि नित्य हाँस्छिन् ।२।
सदा सबैमा मृदु भाव राख्ने
सन्तानका निम्ति सहेर बाँच्ने
आमा छ मेरो शुभ वन्दना यो
संसारको सृष्टि जहाँ अडेको ।३।
नारी बिना संरचना हुदैनन्
सम्मान गर्ने मन मित्र छैनन्
हुन्छन् बलत्कार गुहार दिन्नन्
गरेर हत्या अपराध लुक्छन् ।४।
यस्ता नराम्रा खलपात्र लाई
संस्कारको सूत्र पढाऊ आई
निदाउने रात थिए अनिद्रा
भएछ धिक्कार कुपुत्र बिक्दा ।५।
बाँड्छिन् उमारेर सुखानुभूति
तथा उनै मातृ कृपाण कूची
निर्धो नसम्झे बुझ आदिशक्ति
मेरो हिया भित्र सदा छ भक्ति ।६।
छन्दः उपजाति
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष