
२६ फागुन, काठमाडौँ । रोड सेफ्टी वर्ल्ड सिरिज अन्तर्गत इंल्याण्ड लेजेन्ड्स र भारत लेजेन्ड्स बिच भएको रोमाञ्चक खेलमा भारत लेजेन्ड्स ६ रनले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्ड लेजेन्ड्सको टिमले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । इंल्याण्ड लेजेन्ड्सका लागि ब्याटिङ्गमा केविन पिटरसनले ३७ बलमा ७५ रनको विस्फोटक पारी खेलेका थिए । आफ्नो ७५ रनको पारीमा केविन पिटरसनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए । भारतका लागि बलिङ्गमा युसुफ पठानले सर्वाधिक ३ विकेट लिएका थिए ।
इंल्याण्ड लेजेन्ड्सले दिएको १८८ रनको विशाल लक्ष्य भारत लेजेन्ड्सले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । भारत लेजेन्ड्सको टिमले २० ओभरमा ७ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । भारत लेजेन्ड्सका लागि इरफान पठानले ३४ बलमा ६१ रनको विस्फोट पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । इंल्याण्ड लेजेन्ड्सका लागि मोन्टी पनिसारले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट निकालेका थिए ।