
फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई बालुवाटार बोलाएका छन् । उनले अपरान्ह ५ बजे जसपाका शीर्ष नेताहरुलाई सामूहिक रुपमा भेट्न बोलाएका हुन् ।
जसपाका एक नेताले जनाएअनुसार प्रधानमन्त्रीले बोलाएको सामूहिक छलफलमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई बालुवाटार जाने भएका छन् ।
सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतालाई निस्क्रिय बनाएसँगै सत्ता सहकार्यको खेल सुरु भएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा सरकार अल्पमतमा पर्नेछ । यस्तोमा प्रधानमन्त्री ओलीले जसपाका नेतासँग सत्ता सहकार्यको प्रस्ताव राखेका छन् ।
विभिन्न मुद्दाहरुलाई अगाडि सारेको जसपाले सत्ता सहकार्यको लागि कांग्रेस र माओवादी केन्द्रसँग पनि छलफल गरिरहेको छ । जसपाले माग पुरा गर्नेसँग नै सत्ता सहकार्य हुने बताएको छ ।