
२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा र उच्च अदालतका १८ काे नाम न्यायाधीश नियुक्तिको सिफारिस गरेको हाे ।
त्यस्तै, न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस भएका छन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषिराज भण्डारी उच्च अदालत पोखराको न्यायाधीश सिफारिस भएका छन् ।
यसैगरी जिल्ला न्यायाधीसहरु मध्येबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । जसमा जिल्ला अदालत तनहुँका न्यायाधीश जगतनारायण प्रधान उच्च अदालत विराटनगर, म्याग्दीका माधवेन्द्र गिरी उच्च अदालत तुलसीपुर, काभ्रेका पुरुषोत्तम ढकाल उच्च अदालत नेपालगन्ज इजलासमा, जिल्ला न्यायाधीश विष्णु सुवेदी उच्च अदालत पाटन हेटौंडा इजलास, अर्जुनप्रसाद कोइराला उच्च अदालत जनकपुर वीरगन्ज इजलास, अमृतबहादुर बस्नेत उच्च अदालत पाटन र मेदिनीप्रसाद पौडेल उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सिफारिस भएका छन् ।
न्याय सेवाका रा.प. प्रथम श्रेणीका अधिकृतहरु मध्येबाट उच्च अदालत पाटन हेटौंडा इजलासका रजिस्ट्रार रामेश्वर रेग्मी उच्च अदालत जनकपुर र सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल उच्च अदालत तुलसीपुर बुटवल इजलास सिफारिस भएका छन् ।
अधिवक्ताहरु मध्येबाट सातजना अधिवक्ता पनि उच्च अदालतमा न्यायाधीश सिफारिस भएका छन् । रसुवाका अधिवक्ता फुर्वा तामाङलाई उच्च अदालत विराटनगर धनकुटा इजलास, सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई उच्च अदालत पोखरा, सुनसरीका जगदीश घिमिरेलाई उच्च अदालत पाटनको न्यायाधीश, कञ्चनपुरकी अधिवक्ता पुनम सिंह (चन्द) लाई उच्च अदालत सुर्खेत, काभ्रेका सागर विष्टलाई उच्च अदालत दिपायल, सिरहाका गणेश ठाकुरलाई उच्च अदालत विराटनगर धनकुटा इजलास र भक्तपुरकी निर्मला शाक्यलाई उच्च अदालत पाटन हेटौंडा इजलासमा न्यायाधीश सिफारिस गरिएका छन् ।