
चैत १ गते, काठमाडौं । केन्द्रिय तथ्याङ्क विभागले कोरोना भाईरसको महामारीका कारण देशको अर्थतन्त्र ४.६ प्रतिशतले ओरालो लाग्ने प्रक्षेपण गरेको छ तर, यो अवधिमा नेपालको पूँजी बजारमा भने उछाल नै आएको छ ।
कोरोना भाईरसलाई नियन्त्रण गर्ने भन्दै गत वर्ष चैत्र ११ गतेबाट सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनका कारण देशको सम्पूर्ण क्षेत्र तहसनहस मात्र भएन देशको अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पूँजीबजार पनि नराम्ररी नै प्रभावित भएको थियो ।
महामारी कम हुँदै जाँदा अर्थतन्त्र चलायमान हुन थाल्नु र सेयर बजारमा नयाँ कम्पनीहरुको प्रवेश तथा पूराना कम्पनीहरुको सुचकमा सकारात्मक परिवर्तन हुनुले समग्र सेयर बजार सूचकमा सकारात्मक संकेत देखियो । जससँगै बजार पुँजीकरण पनि ९६ प्रतिशतले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार यो अबधिमा १ दर्जनको हाराहारीमा नयाँ कम्पनीहरु नेप्सेमा सुचिकृत भएका छन् । गत वर्ष चैत्रमा सेयर कारोबार मापक नेप्से समग्रमा १३३४ दशमलब २९ बिन्दुमा थियो । तर साताको अन्तिम दिन बिहिबार नेप्से २४५८ दशमलब ४८ बिन्दुमा उक्लिएको छ । यो बिगत १एक वर्षमा ११२४ दशमलब १९ अंकले बढि हो ।
भारिमात्रामा बजार पुँजीकरण
गत वर्ष चैत्रमा विभिन्न कम्पनीहरुको सेयर मूल्यको आधारमा झण्डै सवा १७ खर्बले बजार पूँजीकरण भएकोमा साताको अन्तिम दिन बिहिबार प्रतिकित्ता सेयर मूल्यका आधारमा बजार झण्डै ३४ खर्बले पूँजीकरण भएको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा झण्डै दोब्बर हो ।
ठूला कम्पनीहरुको बजार प्रवेशले लागानीकर्ता उत्साहित
यो अबधिमा केहि नयाँ कम्पनीहरुको बजारमा प्रवेशसंगै लगानीकर्ताहरुमा थप उत्साह थपिएको सेयर विज्ञहरुले बताएका छन् ।
यो अबधिमा नेपाल पूनर्बीमा कम्पनी तथा नेपाल ईन्फ्रास्ट्रक्चर बैंक जस्ता ठूला कम्पनीहरु १० करोड कित्ता सेयर सहित बजारमा प्रवेश गरेका छन् । बजारमा प्रवेश गरेसंगै तिनीहरुको मूल्य पनि ह्वात्तै बढ्दा बजार पूँजीकरण पनि ह्वत्तै बढेको विश्लेषकहरुको भनाई रहेको छ ।
यो अबधिमा फ्लोट ९० प्रतिशतले बढेको छ । गत वर्ष चैतमा झण्डै ६ खर्ब रहेको नयाँ कम्पनीहरुको पूँजीकरण सातको अन्तिम दिन बिहिबारसम्म ११ खर्ब भन्दा बढि पुगेको छ । फ्लोट बजारमा प्रवेश गरेका नयाँ कम्पनीहरुको मूल्य मापन गर्ने सूचक हो ।
त्यसैगरी गत वर्षको तुलनामा सेन्सेटिभमा पनि उछाल आएको छ । सेन्सेटिभ गत वर्षको तुलनामा ५४ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत चैत्रमा ८ खर्ब ६१ अर्ब रहेको सेन्सेटिभ अहिले बढेर १३ खर्बभन्दा माथि पुगेको छ ।
नेप्सेका अनुसार सेन्सेटिभ फ्लोटमा पनि राम्रै सुधार देखिएको छ । गत वर्ष चैत्रमा ३ खर्बले पूँजीकरण भएको सेन्सेटिभ फ्लोट बिहिबारसम्ममा ४ अर्ब ६३ खर्ब पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ५३ प्रतिशतले बढी हो । सेन्सेटिभ फ्लोट क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचक हो ।
नेपालको कूल ग्राहर्स्थ उत्पादनभन्दा १६ प्रतिशतले मात्रै कम
अहिलेको पूँजी बजारको पूँजीकरण भर्खरै राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको संशोधित कूल ग्राह्यस्थ उत्पादनभन्दा १६ प्रतिशतले मात्रै कम हो ।
तथ्याङ्क विभागले कुल ग्राहर्स्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन गरि सन २००१ बाट २०११ बनाएको थियो । आधार वर्ष परिवर्तन गर्दा कूल ग्राहर्स्थ उत्पादन पनि बढेर ३९ खर्ब ४३ अर्ब ६६ करोड पुग्ने देखिएको थियो ।
देशको कूल ग्राहर्स्थ उत्पादन (जिडिपि) र सेयर बजार पूँजीकरण को अन्तर केवल ५ खर्ब ५६ अर्ब ३२ करोड अर्थात १६ प्रतिशतले मात्र अन्तर देखिएको छ ।