९ चैत्र, काठमाडमौं । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प, गैडहवा रुपन्देहीमा कार्यालय प्रमुखको रुपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीमाथि मुद्दा दायर गरिएको छ ।
निज पौडेल र पासीले सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले निजहरुलाई सेवाग्राहीसँग रु. ५० हजार घुस सहित अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा निजहरुले सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनार्थ घुस माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।