
काठमाडाैं । अदालतको आदेशसँगै ब्यूँतिएको नेकपा (एमाले)भित्र आन्तरिक विवाद चरमता तिर पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बहुमतको डण्डा देखाउँदै एकलौटी निर्णयहरु गर्दै गर्दा वरिष्ठ नेता माधव कुमार पक्षले देशव्यापी समानान्तर कमिटी बनाउन थालेको छ । विवाद पार्टी विभाजन उन्मुख देखिन्छ ।
विभाजन उन्मुख देखिएको विवादका बारे हामीले नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेसँग केहि जिज्ञासा राखेका छौं । माधव कुमार नेपाल पक्षीय नेता पाण्डेसँग एमालेको राजनीतिक भविष्यबारे गरिएको छोटो कुराकानीको सम्पादित अंश :
अदालतको आदेशसँगै नेकपा (एमाले) पार्टी ब्यूँतिएपछि एमालेभित्र देखिएको विवाद खास के हो ? तपाईँहरुले किन बहुमत पक्षको निर्णयलाई मान्न अस्वीकार गरिरहनु भएको छ ?
पहिला त फागुन २८ को केन्द्रिय समितिको बैठक भनियो, त्यो हामीलाई थाहा नै छैन् । म पनि स्वंय केन्द्रिय सदस्य तर, कुनै जानकारी छैन् । हरेक बैठकको सुचना आउने गर्दछ तर त्यस दिनको बैठकको कुनै पनि सुचना आएको थिएन । त्यसकारण त्यो बैठक नै होइन् । त्यहाँ केहि मान्छे बटुलियो अनि त्यसलाई नै बैठक भनेर भनिएको छ । र एकै दिन दुई वटा माइन्यूट खडा गरेर १० औं र ११ औं बैठक भनिएको छ ।
त्यस दिनको बैठकलाई नै नमाने पछि त्यस दिनको निर्णयलाई मान्ने कुरा भएन । हाम्रो नेता माधव कुमार नेपालले सिधै भन्नु भएको छ, त्यो २८ गतेको बैठक र त्यसको निर्णय फिर्ता हुनुपर्छ । अहिले एमालेभित्र देखिएको विवादको विषय नै २८ गतेको उहाँहरु (केपी शर्मा ओली पक्ष)को एकल बैठक र निर्णयको हो । उहाँहरु त्यहि बैठक र त्यसै बैठकका निर्णयहरुलाई टेक्दै अन्य एकलौटी निर्णय गर्न अघि सर्नुभएको छ । समस्या यहीँबाट हो ।
फागुन २८ पछि चैत ७ मा निकै महत्वपूर्णं निर्णयहरु भएका छन् । त्यससँगसँगै भएका अन्य निर्णयहरुलाई कसरी हेर्नुभएको छ ?
प्रमुख रुपमा त उहाँलाइ त्यो २८ गतेको निर्णयहरु सच्याउनुस त्यसपछि अनि हामी तपाईले बोलाएको बैठकमा आउँछौ । बैठक पार्टी कार्यालयमा बोलाउनुस भनेका थियौं । उहाँले जे कुरा नर्गनुस भनेको त्यहि कुरा गर्नु भनेको छ । यिनीहरुले जेसुकै गर्नु म अगाडी बढे भने रेल हट्ला तर, म हटदिन भन्ने टाइपको व्यवहार प्रस्तुत गरिरहनु भएको छ । एउटा कम्युनिष्ट पार्टीको नेता, सामूहिक नेतृत्व परिपाटीमा अगाडि बढ्नु पर्ने नेताले जे व्यवहार गर्नु भएको छ त्यो ठिक होइन् । त्यसकारण हामीले एकलौटी निर्णयहरु मान्नेवाला छैनौं ।
बहुमतको निर्णय गर्नलाई त पहिला त पार्टीका सम्पुर्ण सदस्यलाई बोलाउने ठाउँ त बनाउन पर्यो । हामीले भनिरहेको कुरा, बैठक पार्टी कार्यालयमा बोलाउनुस्, उहाँ धनगढीदेखि विराटनगरसम्म भाषण दिन जान सक्ने पार्टी कार्यालयमा बैठक राख्न नसक्ने, कारण के हो ? त्यसकारण उहाँ जसरी पनि पार्टी कब्जा गर्ने, आफु खुसि निर्णय गर्ने, पार्टीभित्र निरंकुशता ल्याउने काम गर्दै हुनुहुन्छ ।
उहाँहरु आफ्नै शैलीले अगाडि बढ्ने, तपाईँहरु आफ्नै शैलीमा । अन्ततः एमालेको भविष्य विभाजन र फुट तिरै त होला, होला ?
एमालेको भविष्य केहो भन्नु पर्दा केपि ओलीले म दुई तिहाइ ल्याउछु भन्नु भाछ, यो भनेको म दुई तिहाइ कांग्रेसलाई दिलाइदिन्छु भनेको हो । उहाँ हुँदा खाँदाको बहुमत पार्टीलाई भंग गरेर केहि झण्ड लिएर रमाईरहनु भएको छ ।
उहाँले महाधिवेशन पनि भन्नु भएको छ तर, त्यो विश्वास गर्ने आधार छैन् । किनकी उहाँले सँगसँगै देशलाई नै चुनावमा लैजानुपर्छ भनेर लागिरहनु भएको छ । उहाँ चुनावमा जाने र आफ्ना आसेपासेलाई मात्रै उम्मेदवारका रुपमा खडा गर्ने योजनामा हुनुहुन्छ । त्यस्तो हुँदा अधिकांश निर्वाचन क्षेत्रमा एमालेको सर्वनाक हार हुने स्थिति आउँछ ।
ओलीलाई लागिरहेको छ, अब सरकारमा बसेर साम, दाम, दण्ड र भेदको नियमलाई प्रयोग गरेर जित्न सकिन्छ । तर त्यो सम्भव छैन् । पार्टी विभाजन होइन् पार्टी नै नरहने स्थितिमा ओलीले पुर्याउँदै छन् । हामी केहि जोगाउन सकिन्छ भनेर लागेका छौं ।
सरकारका महत्वपूर्णँ अंगहरु आफुँ मातहत ल्याउन ओलीले जसरी कदम चालेका थिए अहिले सोही कदम पार्टीभित्रका शक्तिहरु केन्द्रित गराउनमा चालेका छन् । ओलीको यस्तो कदम विरोधीलाई सिध्याउँदै एकलौटी राज गर्नेमा केन्द्रित देखिन्छ । नेता राजेन्द्र पाण्डेका अनुसार सोभियत संघ विघटनको बेलामा गोर्भाचोबको भूमिका पनि ओलीको जस्तै थियो । गोर्भाचोवले सबै शक्ति आफैंमा केन्द्रित गराएका थिए ।
अदालतको आदेशपछि निकै असहज मान्दै एमाले फर्किनु भो । एमालेभित्र अनपेक्षित खालको पेलानमा पर्नुभएको छ । कतिपयले एमालेको माधव पक्ष छिट्टै माओवादी केन्द्रसँग एकतामा जाँदैछ भन्ने चर्चा चलाएका छन् । अवस्था त्यस्तै हो ?
हिजो हामी सँगै थियौं । तत्कालिन नेकपामा ओलीले मनपरी गर्न थालेपछि हामी र प्रचण्ड नेतृत्वको पंक्ति सँगै थियो । तर, अहिले हामी फरक अवस्थामा छौं । मलाई लाग्दैन् माओवादीसँग पुनः एकता हुँदैन् भन्ने । तर, तत्कालै त्यो अवस्था छैन् । हेरौं भोलीका दिनले कता लैजान्छ । तथापी त्यो टाढाको विषय हो भन्ने मलाई लाग्दैन् । हामी चाहन्छौं, नेपालमा कम्युनिष्ट पार्टीहरुबीच एकता अनिवार्य छ ।
तपाईँहरुले पार्टीभित्र समानान्तर कमिटी नै चलाईरहेको अवस्था छ । प्रधानमन्त्री ओलीले विभाजन चाहेको भए म अध्यादेश ल्याईदिन्छ, अलग–अलग हुँदा सजिलो हुन्छ भन्नुभएको छ । त्यो विकल्प ठिक होला नि होइन् ?
अब उहाँले अध्यादेश ल्याइदिनु हुन्छ भने धन्यवाद भनौंला । ल्याईदिए भैगौ नि त ।
अन्त्यमा, हिजो तत्कालिन नेकपाभित्र विवादको सिर्जना प्रधानमन्त्री ओलीले सरकारका सबै शक्तिहरु आफुँमा केन्द्रीत गर्दै गर्दा देखिएको थियो । अहिले एमालेभित्रको विवाद पार्टीभित्रको शक्ति केन्द्रीकृत गर्ने सबालबाट देखिएको छ । तपाईँहरुको बुझाईमा ओलीको यात्रा कता तिर जाँदैछ ?
जुन ढंगले ओलीले शक्ति केन्द्रीकृत गर्न खोजिरहेका छन्, यस्तै शक्तिको केन्द्रमा थिए मिखाइल गोर्भाचोब । उनले ७०/७१ वर्षको रसियाली कम्युनिष्ट आन्दोलनलाई पुरै धुजा–धुजा बनाएका थिए । अहिले रसियामा कम्युनिष्ट छन् कि छैनन् भनेर लाईट बालेर खोज्नुपर्ने अवस्था छ । हामीलाई पनि त्यहि ठाउँमा पुर्याउने चाहना ओलीजीले राख्नुभएको देखिन्छ । उहाँका गतिविधि त्योभन्दा बाहिर छैनन् ।
फागुन २८ को निर्णय र चैत ७ को निर्णयले त उहाँ निकै निरंकुश र फासीवादी शैलीमा अगाडि बढ्न खोजेको प्रष्ट पार्छ । चुनावमा टिकट दिने अधिकार पनि उहाँ एक्लैको, राष्ट्रिय सभा सदस्य छान्ने अधिकार पनि एक्लैको, संसदीय दलमा उपनेता छान्ने पनि एक्लैको, निर्वाचन आयोगदेखि अदालतसम्म जताततै एक्लै । हामीले भनेको सामूहिक नेतृत्वको कुरा कहाँ गयो ? निर्वाचनबाट जितेर महत्वपूर्णं पदमा हुनेलाई लज्जित बनाएको छ ।
पार्टीभित्र उपाध्यक्ष छन्, सचिव छन्, उपसचिवहरु छन्, उनीहरुको भूमिका हुने किन नहुने ? निर्वाचित जिम्मेवार सदस्यहरुलाई भित्तामा टाँसेको तस्बिर जस्तै बनाइएको छ । पार्टी महाधिवेशनबाट निर्वाचित बनेका विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र प्रदिप ज्ञवालीलाई देख्दा लाज लाग्ने अवस्था बनेको छ ।