
‘संसद् विघटनको विरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दवाव छ, राजनीति उल्टो पर्छ कि भनेर । तर नैतिक र राजनीतिक रुपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं ।’
१४ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमका बिरुद्ध आन्दोलनमा रहेका दलहरुलाई अबको राजनीतिक निकासका लागि समझदारी र सहमतिका लागि आव्हान गरेका छन् ।
विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको राजधानीमा शनिवार सम्पन्न बृहत नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आव्हान गरेका हुन् ।
उनले भने, ‘मेरो कोशिस यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु जे प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरुका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’
केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरामा माओवादी केन्द्रले ढिला गरेको जनताको टिप्पणी उठिरहेको सन्दर्भमा उनले यस विषयमा समेत स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने पनि स्पष्ट पार्दै उनले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर एकदुई दिन आफूले हेरेको बताए । उनले अगाडि भने, ‘संसद् विघटनको विरुद्ध उभिएका दलबाटै समर्थन फिर्ता नलिन भन्दै दवाव छ, राजनीति उल्टो पर्छ कि भनेर । तर नैतिक र राजनीतिक रुपले अब माओवादी केन्द्रले समर्थन फिर्ता लिन धेरै दिन पर्खन सक्दैन । सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं ।’
उनले सो अवसरमा संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको समेत खुलासा गरे । अध्यक्ष प्रचण्डले जनदवावका कारण ‘अदालतसँगको सेटिङ’ भत्किएको र संसद पुनःस्थापना भएको बताए । नेकपाको एकता भत्काएर एमाले र माओवादी ब्युँताउने अदालतको निर्णय अस्वभाविक र अप्राकृतिक रहेको उनको भनाई थियो । उनले त्यसको लागि आफूहरु पुनरावलोकमा जाने जानकारीसमेत सो अवसरमा गराए ।
उनले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै यसको विरुद्धमा आफू लड्न आफू तयार रहेको बताए । मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको स्पष्ट पारे ।