
१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा समर्थन गर्ने भन्ने विषयमा तीनभित्रमा औपचारिक तथा लिखित निर्णय गर्ने बताएको छ ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको अनौपचारिक बैठकले औपचारिक बैठकको तयारीका लागि छलपल गर्दै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण अन्य पार्टीहरुसँग भएको वार्ताको विषयमा भएका गतिबिधिहरुका बारेमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन् ।
नेता श्रेष्ठले सरकारलाई आफूहरुको समर्थन छैन तर औपचारिक र लिखित रुपमा निर्णय गर्न बाँकी रहेको पनि बताए । ‘दुई पार्टी एकता गरेपछि ७६ (१) को सरकार भएको र ७६ (१) को सरकारलाई सर्वोच्चको फागुन २३ गतेको आदेशले नेकपालाई दुई पार्टीमा विभाजित गराइदिएपछि हामीसँग समर्थन मागेको पनि छैन हामीले औपचारि रुपमा समर्थन पनि गरेका छैनौं । त्यसकारण हाम्रो समर्थन यसलाई छैन भनेर औपचारिक रुपमा लेखेर दिने कुरा हो । त्यसले कुनै अरु प्रक्रियालाई अगाडि बढाउन रोक्दैन ।’ नेता श्रेष्ठले भने ।
उनले सबै राजनीतिक पार्टीहरुलाई आ–आफ्नो कुरा प्रष्टसँग ल्याउन पनि अनुरोध गर्ने बताए । ‘केपी ओली सरकारमै कोही जानु छ र सर्मथन गर्नुछ भनेपनि गरे हुन्छ । तर प्रष्टसँग आउनु पर्यो हाम्रो लाइन भनेको केपी ओली सरकारलाई विस्थापित गर्न चाहान्छौं । हामी विघटनपछि पुर्नस्थापना भएको यो संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहान्छौं ।’ उनले भने ।
बैठकमा उपस्थिति सबैले विभिन्न राजनीतिक पार्टीहरुसँगको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने बारेमा निक्यौल गर्न केही समय माग गरेको पनि नेता श्रेष्ठले बताए ।
‘सबै परिस्थिति हेर्दा हामीले स्थायी कमिटीको औपचारिक बैठक एक दुईदिन भित्र बसेर अहिलेको राजनीतिक घटनक्रमलाई कसरी अगाडि लैजाने भन्ने बारेमा र पार्टीको भूमिकाका बारेमा आवस्यक निर्णय लिइनेछ ।’
नेता श्रेष्ठले पार्टीको सांगठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापी रुपमा अभियान कसरी लैजाने तथा राष्ट्रिय रुपमा प्रशिक्षण, भेला, सम्मेलनका बारेमा पनि प्रारम्भिक छलफल भएको र त्यसका लागि स्थायी कमिटीको औपचारिक बैठकले नै निर्णय गर्ने जानकारी दिए ।