
२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी विनै १६५ निर्वाचन क्षेत्रमा १६५ वटा सडकको स्वीच थिचेर उद्घाटन गरेको भन्दै सांसदहरुले त्यसको विरोध गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रंगमती शाहिले तयारी विनै प्रधानमन्त्रीले बालुवाटारमा बसेर १६५ वटै निर्वाचन क्षेत्रमा सडकको उद्घाटन गरेर हुन्छ भन्ने प्रश्न गरिन् ।
‘तयारै नगरी १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर वालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू यो त नौटकी नै हो ।’
सांसद शाहीले संसदले जन्माएको प्रधानमन्त्री सिंहदरबार र संसदमा आउन प्रधानमन्त्री डराएको भन्दै भनिन् ‘बालुवाटार पनि सरकारी निवास हो । अब बालकोटमै गएर राज गर्दा राम्रो होला ।’
त्यसैगरी सांसद राजेन्द्र कुमार केसीले पनि प्रधानमन्त्रीले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडकको शिलान्यास गरेपनि कतिपय क्षेत्रमा हालसम्म सडक योजनाको पहिचान नभएको , डिपिहार नभएको, साइड क्लियर नभएको अवस्थामा प्रधानमन्त्रीले कुन सडकको शिलान्यास गरेको हो भन्ने प्रश्न गर्दै त्यो बताइदिन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।
उनले लामो समयको प्रतिक्षामा मेलाम्चीको पानी उपत्यकामा उपलब्ध भएकोमा उपत्यकाबासीको लागि खुसीको कुरा रहेपनि किर्तिपूर नगरवासीले हालसम्म पानी नपाएको बताए । उनले ६० लाख क्षमताको स्टोरेज ट्यांकी भएको तथा घर–घरमा पुराना तथा नयाँ पाइपलाइन जडान भइसकेको अवस्थामा पनि किर्तिपूर नगरवासीहरु काकाकुल अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १६५ वटै निर्वाचन क्षेत्रमा एक–एक गरी १६५ वटा सडक निर्माणको शुभारम्भ गरेको घोषणा गरेका थिए ।