४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदको कामकारबाहीमा भाँजो हालेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखकै कारण संसद बन्धक बनेको आरोप लगाउँदै सभामुखकै कारण सरकारले कामै गर्न नसकेको समेत बताएका थिए ।
प्रधामन्त्रीले सभामुखको कामकारबाहीमाथि आक्रोश पोख्दै यसको निकास कसरी खोज्ने भन्ने विषयमा दलहरुसँग सुझाव मागेको समेत बैठकमा सहभागी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।
‘ससदमा सभामुखले कामगर्न नदिएर संसदमा अराजक अनैतिक काम गरिरहेका छन् भन्नु भयो ।’ अध्या लोहनीले भने ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि पनि सहभागी भएका थिए । बैठकमा नेता पौडेलले राजनीतिक गतिरोधबारे छिट्टै निकास दिन आग्रह गरेको बताएका छन् ।
नेमकिपाका नेता प्रेम सुवाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्णको समेत उपस्थिति रहेको उक्त बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा दलका प्रतिनिधिहरुसँग राय मागेको समेत बताइएको छ ।
सर्वदलीय बैठक भनिएपनि बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट कुनैपनि नेताहरु सहभागी नभएको तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी नभएको बताइएको छ ।
वि.सं.२०७८ वैशाख ४ शनिवार १३:५३ मा प्रकाशित