वैशाख ५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताबारे आधिकारिक निर्णय गर्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार बोलाइएको स्थायी समिति बैठकमार्फत माओवादीले समर्थन फिर्ताबारे आधिकारिक निर्णय लिन लागेको हो ।
एक सञ्चार माध्यमसँग प्रवक्ता श्रेष्ठले बताएअनुसार मंगलबारको प्रतिनिधि सभा बैठकमा माओवादीले समर्थन फिर्ताबारे आधिकारिक जानकारी दिनसक्नेछ । यसअघि माओवादीले समर्थन फिर्ताको निर्णय लिन आवश्यक नभएको बताउँदै आएको थियो । तर, अन्य दलहरुले माओवादीको समर्थनमाथि प्रश्न उठाउँदै आएका थिए ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधि सभा विश्वासको मत लिनु पर्नेछ । माओवादीले समर्थन फिर्ता लिएको खण्डमा र जनता समाजवादी पार्टीले समर्थन नदिएको खण्डमा ओली स्पष्ट रुपमा अल्पमतमा पर्नेछन् ।
हाल जसपा ओलीलाई समर्थन दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको छ । जसपाको पूर्वराजपा समूह ओलीको पक्षमा देखिएको छ भने पूर्व समाजवादी समूह ओलीको विरुद्धमा देखिएको छ ।
वि.सं.२०७८ वैशाख ५ आइतवार १४:०९ मा प्रकाशित