
वैशाख ५,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हार कर्णालीबाट सुरुवात भएको टिप्पणी गरेका छन् । आइतबार चितवन पुगेका उनले अन्य प्रदेशमा पनि ओलीले हार ब्यहोर्ने बताए ।
‘प्रतिगमन धेरै दिन टिक्दैन्, त्यो टिक्ने सम्भावना हुँदैन्’, माडी नगरपालिकाको कार्यालय उद्घाटन गर्दै उनले भने, ‘त्यसको सुरुवात कर्णालीबाट भएको छ, अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि देखिन्छ, त्योभन्दा पनि पहिले संघमा पनि देखिन सक्छ ।’
उनले राजनीतिक अन्यौंलता धेरै समय नटिक्ने पनि बताए । उनका अनुसार हालको परिणाम ओलीले धोका दिएपछि सुरुवात भएको हो ।
यसबीच प्रचण्डले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि हो होइन् भन्ने विषयमा प्रमाणित गरिनुपर्ने बताएका छन् । अयोध्या क्षेत्रमा भईरहेको निर्माणको निरीक्षणपश्चात् उनले अनुसन्धान गरेर प्रमाणित गरिनुपर्ने बताए ।
प्रमाणित गर्न सकिए निकै ठूलो उपलब्धि पनि हुने उनको भनाई छ । प्रचण्डले पुरातत्वविज्ञ ल्याएर अनुसन्धान गरिनुपर्नेमा जोड दिए ।