
७ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको सत्ता जोगाउने खेलमा सहभागी भएको जनता समाजवादी पार्टी, नेपाल(जसपा) संकटमा परेको छ ।
मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा पार्टी निर्णय विपरित ४ सांसदले हस्ताक्षर गरेपछि जसपाले उनीहरुलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको छ । अविश्वास प्रस्ताव विरुद्ध हस्ताक्षर गरेर मन्त्री पद समेत उपहार पाएका ४ सांसदलाई यथाशिघ्र सरकारबाट फर्किन निर्देशन दिँदै २४ घण्टे स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि उनीहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट समेत निलम्बन गरिएको जसपा अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै आफ्नो सत्ता जोगाउन सोमबार जसपाका ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । अविश्वासको प्रस्ताव असफल बनाउन ६ सांसद भएको जसपालाई ४ मन्त्री दिएका हुन् । उनले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन रायमाझीसहित पाण्डेलाई मन्त्री बनाएका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । २ सांसदको समर्थनको अभावमा बहुमत गुमाएको प्रदेश सरकारविरुद्व सोमबार दिउँसोमात्र नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । अविश्वासको प्रस्तावको पक्षमा जसपाका ६ मध्ये ५ सांसदले हस्ताक्षर गरेका थिए। एकजना सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन्।
मुख्यमन्त्री पोखरेलले पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्री, यादवलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री, पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्री नियुक्त गरेका हुन् । दिउँसो साढे ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले सपथ गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मन्त्रालय फुटाएर मन्त्रालयको संख्या सातबाट आठ पु¥याउनुका साथै बहालवाला मन्त्रीको जिम्मेबारी पनि हेरफेर गरेका थिए । यससँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ८ मन्त्री छन् । सोमबार भएको मन्त्रिपरिषद पुर्नगठनसँगै ४ नेकपा एमाले र ४ जसपाका मन्त्री छन् ।