वैशाख ९, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा कतिपय सञ्चार माध्यममा नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले एमाले प्रवेश गर्न लागेको कुरा चर्चामा छ । माओवादी परित्याग गरि एमाले प्रवेश गरेका उर्जामन्त्री टोपबहादुर रायमाझीले गजुरेलसहित केहि नेतामाथि गरेको टिप्पणीपश्चात यस्तो कुरा चर्चामा आएको हो ।
रायमाझीले केहि दिन अघि एक टेलिभिजन अन्तरवार्ताका क्रममा गजुरेलसहित पम्फा भुसाल र देव गुरुङ एमाले प्रवेश गर्न लागेको बताएका थिए । माओवादी पार्टी छाडेर उनीहरु सामूहिक रुपमा एमाले प्रवेश गर्न लागेको उनको भनाई थियो ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कार्यशैलीप्रति असन्तुष्ट भएरै नेताहरुले पार्टी परिवर्तन गर्न लागेको बताएका थिए । रायमाझीको टिप्पणीसँगै गजुरेलसहितका नेताहरुमाथि प्रश्नहरु उठ्न थालेको हो ।
गजुरेलले माओवादी छाड्ने कुरा कति साँचो ?
रायमाझीको टिप्पणीसँगै चर्चामा आएको पार्टी परिवर्तनबारेको हल्ला निराधार, कलोपकल्पीत, दुस्प्रचार मात्रै भएको गजुरेलले बताएका छन् । उनले पार्टीभित्र फरक विचार राख्नेलाई पार्टी परिवर्तन गर्दैछ भनेर हल्ला फिँजाईनु निकै गैरजिम्मेवार शैली भएको भन्दै रायमाझीप्रति आक्रोश व्यक्त गरे ।
‘यसमा हाम्रै पार्टीका साथीहरुको समेत कमजोरी रहेको छ, केही असहमति, केही फरक विचार राखेकै आधारमा पार्टी नै छाडेको भनेर आन्तरिक रुपमा समेत दुस्प्रचार गरियो, यसले पनि केही समस्या पारेको छ, यस्ता गम्भीर विषयमा हल्का, गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिनु हुँदैन’, सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुग्दा गजुरेलसहित केहि नेताहरु मन्त्री बन्दै गरेको, प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेको जस्ता टिप्पणीहरु भएका थिए । जसलाई उनले पटक–पटक सार्वजनिक रुपमै खण्डन गरेका थिए ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार १०:४१ मा प्रकाशित